अष्ट्रेलिया मेलबर्न ।
गैर आवासीय नेपाली संघ वस्टर्न राज्यले आयोजना गर्ने नेपाल फेस्टिभल पर्थको तयारी पुरा भएको छ। भोलि (नोभेम्बर २६) तारिखमा फरेस्ट जेजमा हुने फेस्टिभलका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् वेस्टर्न राज्य समिति सयोंजक दिपक बस्नेतले जानकारी दिए।
पर्थमा हुने फेस्टिभललाई थप विशेष बनाउन हिउँ खसिरहेको मानवनिर्मित सगरमाथा, नेपालको धरहरा, गोर्खा हाउस, नेपाल हाउस, परेड लगायतका कार्यक्रम एवम् प्रस्तुती राखिएको बस्नेतले केबिसी खबरलाई जानकारी दिए।
बिहान ११ः०० बजेबाट सुरु भएर ११ः४५ बजेसम्म हुने परेडमा नेपाली मौलिक बाँजाको धुनमा झाँकीहरुसहित मुख्य बजार परिक्रममा गर्ने कार्यक्रम रहेको छ। परेड सकिएपछि १ः३० बजेबाट औपचारिक कार्यक्रम सुरु हुने संयोजक बस्नेतले जानकारी दिए।
फेस्टिभलमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, राज्य सरकारका मन्त्री रिच ह्वीट्बी, डेप्यूटी प्रिमियर रोजर कुक, एनआरएनएका पदाधिकारी, लर्ड मेयर ब्रेजिल जेम्पिलास लगायत अतिथि रहेको बस्नेतले जानकारी दिए। झण्डै १० हजार दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको अनुमान छ।
झण्डै ९० हजार अष्ट्रेलियन डलर लागत अनुमा गरिएको पर्थ फेस्टिभलमा नेपालका चर्चित गायक दिपक बज्राचार्य र उनको ब्याण्ड, हास्य कलाकार सन्दिप क्षेत्रीका साथै स्थानीय कलाकारको प्रस्तुति रहने संयोजक बस्नेतले बताए।
नेपालको मौलिक कला, संस्कृति र नेपाली मौलिकपनको प्रवद्र्धन गर्दै अस्ट्रेलियामा चिनाउने उद्धेश्यले गैर आवासीय नेपाली सघं एनआरएनएको सहकार्यमा अष्ट्रेलियाका विभिन्न राज्यमा नेपाल फेस्टिभल सम्पन्न गरिएकोछ। प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको फेस्टिबल सन् २०१४ र २०१८ पछि तेश्रोपटक गर्न लागिएको हो।
प्रतिक्रिया