अष्ट्रेलियाको भिक्टोरिया राज्यमा चुनावी सरगर्मी, लेबर कि लिबरल कसले मार्ला बाजी ?

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा चुनावी सरगर्मी, लेबर कि लिबरल कसले मार्ला बाजी ?


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार २६ नोभेम्बरका दिन राज्यतहको निर्वाचन हुँदैछ । डेनियल एन्ड्रूजको वर्तमान राज्य सरकारलाई परिवर्तन गर्ने एजेन्डाका साथ लिबरलका नेता म्याथ्यू गाई एकातिर लागेका छन् भने आफुले भिक्टोरियाको विकास र सम्बृद्धिमा कदम चालेको भन्दै लेबरलको तर्फबाट प्रिमियरको रुपमा फेरि पनि एन्ड्रयू नै अघि आएका छन् ।

कूल ८८ जनाले अष्ट्रेलियाको संसदमा जिल्लाको प्रतिनिधित्व गर्नेछन् । ४५ सांसद जित्ने पार्टीले सरकार बनाउनेछ । शनिबार रातिसम्म कसको नेतृत्वको सरकार बन्नेछ यो स्पष्ट भइसक्नेछ । हालसम्म विभिन्न माध्यमबाट व्यक्त गरिएका मतहरु प्राप्त हुने क्रममा छ भने अब प्रत्यक्ष मतदान शनिबार विहानबाट सुरु हुनेछ ।

यतिबेला नेपालीहरुको बाहुल्य रहेका क्षेत्रहरुमा उठेका उम्मेद्वारप्रति यहाँको नेपाली समूदाय पनि खुलेरै लागेको छ । लिबरल पार्टीको तर्फबाट लिबरल फ्रेन्ड्स अफ भिक्टोरियाका नेता टोनु घोताने अघि सरेका छन् । उनले लिबरल पार्टीका उम्मेद्वारहरुको लागि हालसम्म दुईवटा फन्डरेजिंग कार्यक्रम सम्पन्न भइसकेको र स्वयंसेवी रुपमा पनि धेरैले पार्टीका लागि काम गरिरहेको जानकारी दिएका छन् । उनले नै आयोजना गरेको कार्यक्रममा लिबरल पार्टीले आफ्नो सरकार बनाएको अवस्थामा नेपाली सामूदायले निर्माण गर्न लागेको नेपाली बहुसांस्कृतिक केन्द्रका लागि २ मिलियन डलर अर्थात् २० लाख सहयोग गर्ने घोषणा हुनु निकै नै महत्वपूर्ण भएको बताउँछन् । उनी भन्छन् हामीले यहाँको राजनीतिमा सक्रियता जनाउनुपर्छ । उनीहरुबाट लिने मात्र सोच्न हुन्न । हामीले पनि यहाँको राजनीतिमा समय दिनुपर्छ । चुनावको बेला उनीहरुसँग नै स्वयंसेवामा सहभागी भएर आफ्नो मनपर्ने उम्मेद्वारलाई सघाउन सकिने बताउँछन् ।

उता लेबर पार्टीको राजनीतिमा अघि बढेका बम योञ्जनले आफुहरुले राज्य तहको निर्वाचनलाई निकै नै नजिकबाट हेरिरहेको जानकारी दिएका छन् । उनले क्रेगीबर्न, सिड्नम, ग्लेनरोय लगायतका क्षेत्रबाट उठेका उम्मेद्वारहरुका लागि विभिन्न कार्यक्रम गरेको र भएका कार्यक्रममा नेपाली समूदायले सक्रिय सहभागिता जनाएको बताए ।

नेपाली समूदायमा मुख्यत व्यवसायमा हात हलेकाहरु लिबरलको समर्थक देखिन्छन् भने लेबरको समर्थन गर्नेहरुको संख्या बढी नै छ ।
लेबर पार्टीबाट टार्नेट क्षेत्रको अध्यक्ष नै नेपालीमूलका महेश भण्डारी छन् । यस अघि नै समूदायका विभिन्न अगुवाहरुले विभिन्न काउन्सिलहरुमा आफुलाई उम्मेद्वारको रुपमा उभ्याएका थिए यद्यपि सफलता भने मिलिसकेको छैन ।

लेबर सरकारले विकासको कामलाई तिव्रता दिएको, कोरोना कालमा पनि यहाँका जनताको सुरक्षामा विशेष ध्यान दिएको लगायतका मुद्दालाई अघि बढाएको छ भने लिबरलले वर्तमान सरकारले कोरोनाकालमा भएको क्षतिको जिम्मेवारी लिन पर्ने भन्दै आफ्नो एजेन्डा बनाएको छ ।