मंसिरमै महाधिवेशन गर्न कांग्रेससभापति देउवाको निर्देशन

मंसिरमै महाधिवेशन गर्न कांग्रेससभापति देउवाको निर्देशन


काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीको महाधिवेशन गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिनुभएको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको पदाधिकारी बैठकमा सभापति देउवाले निर्वाचन समितिलाई बोलाएर तोकिएकै मितिमा महाधिवेशन सम्पन्न गर्न निर्देशन दिनुभएको हो ।

नेपाली कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १२ गतेसम्म काठमाडौंमा गर्ने तय भएको छ । तर अझै पनि तल्लो तहका अधिवेशन सम्पन्न हुनसकेको छैन । यसले गर्दा महाधिवेशन नै प्रभावित हुने आशंका देखिएको छ । त्यो आशंका चिर्दै सभापति देउवाले निर्धारित समयमै महाधिवेशन गर्न निर्वाचन समितिलाई निर्देशन दिनुभएको हो । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरमा जसरी पनि महाधिवेशन गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले आफूले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेको पनि बताउनुभयो ।