तीन दिनमा करिब २ सय अंंकले बढ्यो नेप्से

तीन दिनमा करिब २ सय अंंकले बढ्यो नेप्से


काठमाडौं, ९ कात्तिक । शेयर परिसूचक नेप्से लगातार वृद्धि हुन थालेको छ । दशैं अघिसम्म लगातार जसो घटेको शेयर कारोबार मापक नेप्से परिसूचक दशैं पछि भने सुधारको दिशमा देखिएको हो । यो साता नेप्से परिसूचक लगातार वृद्धि भएको छ । आइतबारदेखि मंगलबारसम्म आइपुग्दा नेप्से परिसूचक करिब २ सय अंकले बढेको छ । अघिल्लो साता २ हजार ५ सय ५७ अंकमा रहेको परिसूचक तीन दिनमा १ सय ९३ दशमलव ९२ अंकले बढेर २ हजार ७ सय ५१ अंकमा पुगेको छ । मंगलबार मात्रै नेप्से परिसूचक ७८ दशमलव ८२ अंकले बढेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५० अंकले बढेको छ ।

दिनभर भएका ७२ हजार ९ सय ७३ कारोबारबाट २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँ पुगेको छ । यस अघि सोमबार ५३ हजार ७९२ कारोबारबाट २२९ कम्पनीका ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५७५ रुपैयाँ पुगेको थियो ।