मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने नेपालीहरुले आफ्नो कला, संस्कृति, भाषा, परम्पराको जगेर्ना गर्नका लागि बनाउन लागेको अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरको नयाँ अध्यक्षमा गान्धी भट्टराई निर्विरोध निर्वाचित भएका छन् । करिब १ सय १९ रोपनी क्षेत्रफलको जग्गा खरिद गरी त्यहाँ बहुसांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यमा अगाडि बढेको संस्थाको साधारणसभा अघि नै विभिन्न पदमा एकमात्र आवेदन परेपछि पदाधिकारीहरु निर्विरोध चयन भएका हुन् ।
भोला गिरीको संयोजकत्वमा बनेको निर्वाचन कमिटीले एक विज्ञप्तिजारी गर्दै निर्वाचन आवश्यक नदेखिएको र विभिन्न पदाधिकारी निर्विरोध भएको जानकारी दिएको छ ।
निर्वाचन कमिटीका अनुसार अध्यक्षमा गान्धी भट्टराई, उपाध्यक्षमा सुधीर शाक्य, कुसुम पोखरेल, सचिवमा तिलक पोखरेल, कोषाध्यक्षमा अर्जुन ढकाल, सहकोषाध्यक्षमा अनन्त पौडेल चुनिएका छन् । यस्तै सदस्यहरुमा मनोज घिमिरे, आत्म रिजाल, दिपक आचार्य, भीम न्यौपाने, सुमिता मल्ल भण्डारी र ज्योति सिंखडा निर्विरोध भएका छन् ।
यसअघि संस्थाको नेतृत्व राजेश आचार्य, डा. चन्द्रदिपक पोखरेल र रञ्जन वैद्यले गरिसक्नुभएको छ ।
केही अघि भिक्टोरिया सरकारले बहुसांस्कृतिक केन्द्र तत्काल सञ्चालन गर्ने प्रयोजनमा मर्मतका लागि ६ महिनाभित्र खर्च गरिसक्नेगरी करिब तीन लाख अष्ट्रेलियन डलर अनुदान प्रदान गरेको थियो । संस्थाका करिब ११ सय सदस्यहरु रहेका छन् । बहुसांस्कृतिक केन्द्रले १६ लाख डलरको लागतमा चार कोठो भवनसहितको जग्गा खरिद गरी यसमा गुरुयोजना निर्माण गरी केन्द्रलाई पूर्णता दिने क्रम अघि बढाएको छ ।
निर्विरोध निर्वाचित भएपछि केविसीखबरसँग कुरा गर्दै अध्यक्ष भट्टराईले सबैसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया