सिड्नीको नेपाल फेष्टिभल परेडमा कुमारीको रथ र शिव पार्वती पनि समावेश गरिने

सिड्नीको नेपाल फेष्टिभल परेडमा कुमारीको रथ र शिव पार्वती पनि समावेश गरिने


सिड्नी, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा शनिबार सिड्नीको बरउडपार्कमा हुने नेपाल फेष्टिभल अघिको परेडमा यस पटक जीवित देवी कुमारीको रथसहितको सहभागिता हुने भएको छ । शनिबार विहान १०ः४५ मा भेला भएर ११ बजेदेखि १२ बजेसम्म परेड सञ्चालन हुनेछ ।

गुठी अष्ट्रेलियाको सहकार्यमा कुमारीको रथलाई परेडमा समावेश गर्न लागिएको परेड संयोजक सन्ध्या शाहले जानकारी दिइन् । एनआरएन अष्ट्रेलियाकी सचिव समेत रहेकी शाहले नेपाल फेष्टिभल परेडमा शिव पार्वती, कलश यात्रा, पञ्चकन्याका साथै विभिन्न जाति जाति, भाषाभाषीका झाँकीहरु समावेश गरिने बताएकी छिन् ।

बरउड पार्कको पार्क एभेन्यूमा जम्मा भएर कोमार स्ट्रीट हुँदै परेडले एक फन्को लगाउनेछ ।
नेपाल फेष्टिभल परेडमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले सुरुवात गर्नुहुनेछ । साथै, केही स्थानीय राजनीतिकर्मीहरुले पनि उहाँलाई साथ दिनेछन् ।

अष्ट्रेलियामा नेपाली कला, संस्कृति, भाषा, खाना र पहिरनको प्रबद्र्धन गर्ने उद्देश्यले हरेक दुई वर्षमा एनआरएन अष्ट्रेलियाले नेपाल फेष्टिभलको आयोजना गर्दछ । सन् २०२० मा कोरोना महामारीका कारण नेपाल फेष्टिभल स्थगित भएको थियो भने यस पटक सिड्नीको बरउड पार्कमा पहिलो चोटी नेपाल फेष्टिभल गर्न लागिएको हो । यसअघि सिड्नीको डार्लिंग हार्बरमा नेपाल फेष्टिभल आयोजना गर्ने गरिएको थियो । सन् २००६ बाट सिड्नीबाटै नेपाल फेष्टिभलको सुरुवात गरिएको थियो ।