तास्मिानिया होबार्ट ।
गायक सबिन राई एण्ड द फेरोह ब्यान्डले तास्मानियाको होबार्टमा गर्ने सांगीतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ।
यही नोभेम्बर १८ तारिख शुक्रबारका दिन हुने उक्त लाइभ कन्सर्टको तयारी अन्तिम चरणमा पुगेको जुभेनाइल इन्टरटेनमेन्टका कार्यक्रम संयोजक आशिष विश्वकर्माले जानकारी दिए। कार्यक्रममा प्रस्तुति दिन सबिन राई एण्ड द फेरोह टीम आज (बिहीबार)होबार्ट पुग्दै छ।
स्टेजबाहेकका सबै कार्य सम्पन्न भएको संयोजक विश्वकर्माले जानकारी दिए। कार्यक्रमका बारेमा यहाँ रहेका नेपाली भाषीको राम्रो प्रतिक्रिया पाएको उनले बताए।
होबार्टस्थित युनिबारमा हुने उक्त कार्यक्रमको ७० प्रतिशत भन्दा बढी टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ। स्मरण रहोसः कार्यक्रम स्थल युनिबारको क्षमता ९ सय जना रहेको छ। कार्यक्रममा सहभागी हुन लन्चेस्टनबाट पनि दर्शक सभागी हुने आयोजकले जनाएको छ। त्यस्ता दर्शकका लागि कार्यक्रम आयोजकले यातायातको व्यवस्था पनि गरेको छ।
१४ जना युवा सदस्य रहेको जुभेनाइल इन्टरटेनमेन्टले होबार्टबाट आफ्नो कार्यक्रमको सुरुवात गरेको छ। अष्ट्रेलियामा रहेका नेपालीलाई सामाजिकीकरण गर्ने उदेश्यका साथ जुभेनाइल इन्टरटेनमेन्टको स्थापना गरको संस्थापक पेमा शेर्पा बताए। ‘जुभेनाइलको अर्थ पक्रँदै गरेको फुल भएकाले यसमा आवद्ध सबै साथिहरु केही गरौँ भन्ने हिम्मतका साथ आउनु भएको छ। भविष्यमा यसलाई थप परिष्कृत गर्दे अष्ट्रेलिया कै ठुलो इभेन्ट ओर्गनाइजरका रुपमा स्थापित गर्ने योजना छ,’ उनले भने।
उक्त कार्यक्रमबाट नाफा भएको पैसा सामाजिक कार्यकामा खर्च गरिने उनले बताए। सबै जना फुल टाइम जब होल्डर भएकाले आम्दानी भएको पैसा बाँड्नु भन्दा सामाजिक कार्यमा लगाउने निर्णय भएको शेर्पाको भनाइ छ।
संयोजक विश्वकर्माले शुक्रबार हुने लाइभ कन्सर्टमा सहभागिता जनाएर मनोरञ्जन लिन सबैलाई अनुरोध गरेका छन् । टिकट सिमित रहेकाले समयमै खरिद गरी आफ्नो सिट सुरक्षित गर्न उनले आग्रह गरेका छन्।
कार्यक्रमलाई ग्रीस इन्टरनेस्नलले प्रयोजन गरेको छ भने सह–प्रयोजन अष्ट्रेलियन फेड्रेसन कलेजले गरेको छ।
प्रतिक्रिया