लमजुङ-१ : जमिन्द्रमान र टकराज दोस्रो पटक आमनेसामने, कसले मार्ला बाजी ?

लमजुङ-१ : जमिन्द्रमान र टकराज दोस्रो पटक आमनेसामने, कसले मार्ला बाजी ?


लमजुङ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा लमजुङमा उम्मेदवारको पक्ष विपक्षमा मत विभाजनसँगै जीत हारको चर्चा परिचर्चा चल्न थालेको छ।

यसपटक लमजुङ क्षेत्र नं. १ को प्रदेशसभा सदस्यमा पुनः एमालेका जमिन्द्रमान घले र नेपाली कांग्रेसका डा. टकराज गुरुङ आमनेसामने छन्।

उनीहरू दुवैजना २०७० को दोस्रो संविधानसभा निर्वाचनमा प्रतिस्पर्धी थिए। एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घले यसपटक प्रतिनिधि सभा निर्वाचन लड्न चाहन्थे। कांग्रेस जिल्ला सभापति रहेका डा. टकराजपनि प्रतिनिधिसभा मै सिफारिस भएका थिए। तर, पार्टीले दुवैलाई प्रदेशमा झार्‍यो। घले र गुरुङ अहिले प्रदेशमा प्रतिष्पर्धा गर्दैछन्।

दोस्रो संविधानसभामा गुरुङलाई ७ सय ९८ मतले हराएर घले संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। यसपटक घले आफ्नो जीतको विरासत जोगाउन कस्सिएका छन भने गुरुङ विरासत तोड्न।

विगतमा कांग्रेसको ‘किल्ला’का रूपमा रहेको यस क्षेत्र २०६४ पछि बामपन्थी दलले कब्जा गरेका छन्। पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीका बुद्धिराम तमु निर्वाचित भए।

दोस्रो संविधानसभा निर्वाचनमा एमालेका घले निर्वाचित भए भने ०७४ मा प्रदेशसभामा बाम गठबन्धनबाट एमालेका धनन्ञ्य दवाडी निर्वाचित भए। यतिबेला दुवैले चुनावी प्रचार तीव्र बनाएका छन्। दुवैले चुनाव जित्ने दावी पनि गरेका छन्। गठबन्धन भएकाले टकराज आफूले चुनाव जित्ने दावी गर्छन्।

जमिन्द्रमान आफ्नो संगठन र लोकप्रियता राम्रो भएकाले चुनाव जित्ने बताउँछन्। दुवैको एउटै लक्ष्य छ, आफूले चुनाव जितेमा कृषि, पर्यटन, जलस्रोतसहित विकासका पूर्वाधारहरूमा काम गर्ने।

लमजुङ प्रदेश १ मा ४ स्थानीय तह छन्। जसमध्ये २ वटा गाउँपालिकामा एमालेका अध्यक्ष, एउटा गाउँपालिका र एउटा नगरपालिकामा कांग्रेसले प्रमुख जितेका छन्।

एमाले र कांग्रेसले एक(एक उपाध्यक्ष जित्दा माओवादीले दुईवटा उपप्रमुख जितेको छ। स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र एमाले प्रतिस्प्रर्धी थिए। प्रदेश ‘१’ मा पर्ने बेंसीसहर नगरपालिका(१० र ११ वडाको अध्यक्ष एमालेले जितेको छ।

प्रमुखरअध्यक्ष तथा वडाअध्यक्षले पाएको मतअनुसार एमालेभन्दा गठबन्धन ४ सय २१ मत अगाडि छ। एमालेले १९ हजार ७ सय ६ ल्याउँदा गठबन्धनले २० हजार १ सय २७ मत ल्याएका छन्।

यी दुईमध्ये कुन नेताले बाजी मार्छन त्यो थाहा पाउन मंसिर ४ कुर्नैपर्ने हुन्छ।