नेपाल फष्टिभल सिड्नीमा ५५ वटा स्टल रहने, प्रबद्र्धनात्मक र व्यापारिक सहभागिता

नेपाल फष्टिभल सिड्नीमा ५५ वटा स्टल रहने, प्रबद्र्धनात्मक र व्यापारिक सहभागिता


सिड्नी, अष्ट्रेलिया ।

जनसंख्याको हिसाबले अष्ट्रेलियाको सबैभन्दा ठूलो राज्य सिड्नीमा आउने शनिबार १९ नोभेम्बरका दिन नेपाल फेष्टिभल आयोजना हुँदैछ । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिले विभिन्न सामूदायिक संघसंस्थाहरुसमेतको सहकार्यमा आयोजना गर्न लागेको यो नेपाल फेष्टिभल चार वर्षपछि हुन लागेको हो । सन् २०१८ मा भएको नेपाल फेष्टिभलपछि कोरोनाका कारण नियमित २०२० को नेपाल फेष्टिभल हुन सकेको थिएन ।

यस पटक बरउड पार्कमा आयोजना गर्न लागिएको फेष्टिभलमा ऐतिहासिक रुपमा ५५ वटा विभिन्न व्यवसायिक स्टलहरु रहनेछन् । एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष एवं नेपाल फेष्टिभलका सहसंयोजक अनिल पोखरेलका अनुसार यी ५५ वटा स्टलमध्ये ९ वटा खानाका स्टल हुनेछन् ।

यी स्टलमा कमनवेल्थ बैंकदेखि नेपाली उत्पादन रसुवा पानी समेतका प्रबद्र्धनात्मक स्टलहरु हुनेछन् । अष्ट्रेलियामा नेपालीहरुले सञ्चालन गरेका सफल व्यवसायहरुको सेवा यहीँबाट लिन पाइनेछ भने उनीहरुले गरेका कामहरुको झल्को पनि यी स्टलहरुबाट दिने तयारी छ ।

केविसीखबरसँग कुरा गर्दै पोखरेलले भने, “वेष्टर्न युनियन, एसविएस लगायतका स्थानीय व्यवसायहरुले प्रबद्र्धनात्मक उपस्थिति जनाएका छन् भने विद्यार्थीहरुलाई सेवा दिँदै आएका विभिन्न व्यवसायहरुले पनि विविध कार्यक्रमहरु घोषणा गर्ने क्रम छ । नेपाल फेष्टिभललाई सबैले एउटा उत्सवकै रुपमा लिनुभएको मैले पाएको छु ।”

यस पटक नेपाल फेष्टिभल सिड्नी संस्करणको मुख्य प्रायोजन क्वीन्सफोर्ड कलेजले गरेको छ ।