सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग्ने, नेपाल बारले पनि माग्यो राजीनामा

सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग्ने, नेपाल बारले पनि माग्यो राजीनामा


काठमाडौं, ८ कात्तिक । सर्वोच्च अदालतका न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई भेटेर राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरुले सोमबार सामूहिक छलफल गरी मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीश जबरालाई भेटेर कुरा राख्ने र राजीनामाका लागि आग्रह गर्ने निर्णय गरेका हुन् । सर्वोच्च अदालतका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश जबराका गतिविधिप्रति प्रश्न उठाउँदै आएका छन् । आइतबार छुट्टै छलफलमा सहभागी न्यायाधीश नहकुल सुवेदी भने सोमबारको न्यायाधीशहरुको बैठकमा सहभागी हुनुभएको थिएन ।

प्रधानन्यायाधीश जबराले हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् (फुल कोर्ट) बोलाउनुभएको थियो । तर न्यायाधीशहरु फुल कोर्टमा समेत बसेनन् । यसैगरी सर्वोच्च अदालतमा तोकिएका सात वटामध्ये कुनै पनि इजलास बस्न सकेन । इजलासमा नगएका न्यायाधीशहरुले सामूहिक छलफल गरेका हुन् ।

नेपाल बारले माग्यो प्रधानन्यायाधीशको राजीनामा

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको छ । सोमबार बसेको बारको बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधी

शले निकास दिनुपर्ने भन्दै राजीनामा माग गरेको हो । बारले मंगलबार सल्लाहकारहरुसँग वृहत छलफल गरेपछि मात्र निर्णय सार्वजनिक गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताउनुभएको छ । आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने र त्यसपछि सार्वजनिक गरिने उहाँले बताउनुभएको छ ।

न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्वन्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताएको थियो । त्यस्तै न्यायपालिका शुद्धीकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।