ब्रिसबेन,अष्ट्रेलिया ।
एनआरएन क्विन्सल्यान्ड राज्य कमिटीलेले आयोजना गरेको नेपाल फेस्टिभल ब्रिसबेन सुरु भएको छ । ब्रिसबेनको किंग जर्ज स्क्वाएरमा आ–आफ्नो मौलिक भेषभुषामा जम्मा भएका नेपालीले परेड गरेसँगै कार्यक्रमको सुरुवात भएको हो ।
परेडमा संस्कृतिक झाँकी, बहुसांस्कृतिक समुदायलाई झल्काउने भेषभूषासहित नेपाली मौलिक बजामा सहभागी रमेका देखिन्थे । परेडको मुख्य आकर्षकका रुपमा कुमारीको रथ रहेको थियो। परेडमा यहाँ रहेका विभिन्न नेपाली संघ–संस्थाले आ–आफ्नो ब्यानरसहित सहभगीता जनाएका थिए।
परेडमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, क्विन्सल्यान्डका डेप्युटी प्रिमियर स्टेभन माईल्स, एनआरएन क्विन्सल्यान्डका संयोजक विनोदभक्त आचार्य, पुर्वमन्त्री लक्ष्मन बस्नेत, नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा)का अध्यक्ष चिरञ्जिवी देवकोटा, एन्जाका पूर्वअध्यक्ष हेमन्त काफ्ले, सचिव सरल गुरुङ, वरिष्ठ पत्रकार, मुक्तिनाथ खनाल, पत्रकार डा. भरतराज पौडेल,पत्रकार तक्दिर अधिकारीलगायतको सहभागिता रहेको केबीसी खबरका क्विन्सल्यान्ड सहकर्मी किरण खनालले जानकारी दिए।
नेपालका विभिन्न जाति जाति र समूदायको भेषभूषा लगाएर नेपाली समूदाय सहभागी भएका थिए । लाखे नाच, झाँक्री नाच र पहिलो पटक कुमारीको रथयात्राले परेड थप रोचक बनेको देखिन्थ्यो । त्यहाँ रहेका अष्ट्रेलियन नागरिकले पनि बडो चासोका साथ परेडको अवलोकन गरेका थिए । कुमारीलाई रथमा राखे घुमाइएको थियो ।
१० बजे सुरु भएको परेड १२ बजे पुनः किंग जर्ज स्क्वायरमा नै आएर सकिएको थियो। अहिले नेपाल फेस्टिभल ब्रिसबेनको औपचारिक कार्यक्रम सुरु भएको छ। आजै साँझ गायक दिपक बज्राचार्य एवं उनको रिदम व्याण्डको सांगीतिक कार्यक्रम रहेको छ।
तस्बिर : किरण खनाल
प्रतिक्रिया