ब्रिसबेन, अष्ट्रेलिया ।
अष्ट्रेलियाको ब्रिसबेनमा आईतबार १३ नोभेम्बरमा आयोजना हुने नेपालफेष्टिभलको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल फेष्टिभलमा सहभागी हुने अतिथि आउने क्रम जारी छ । गायक दिपक बज्राचार्य एवं उनको रिदम व्याण्ड शुक्रबार नै ब्रिसबेन पुगेको छ भने अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल पनि शनिबार ब्रिसबेन पुगिसक्नुभएको छ ।
नेपाल फेष्टिभलको सुरुवात परेडबाट हुनेछ । नेपालका विभिन्न जाति जाति र समूदायको भेषभूषा लगाएर नेपाली समूदाय सहभागी हुँदैछन् । परेडमा लाखे नाच, झाँक्री नाच समेत समावेश गरिएको छ भने पहिलो पटक कुमारीको रथयात्रा पनि परेडमा गरिनेछ । यसअघि कुमारीलाई समावेश गरिएपछि रथमा राखेरै भने अष्ट्रेलियामै पहिलो पटक सहभागी हुन लागेको एनआरएन क्वीन्सल्याण्डका उपसंयोजक शम्भु घैंसेले जानकारी दिएका छन् ।
एनआरएन क्वीन्सल्याण्डका सचिव अतुल खड्काले १० बजे नेपाल फेष्टिभलको परेड सुरु हुने जानकारी दिए । विहान ९ बजेदेखि नै जम्मा हुने र व्यवस्थित बनाएर १० बजे सुरुवात गरिने खड्काको भनाई छ । परेड १२ बजे पुनः किंग जर्ज स्क्वायरमा नै आएर सकिनेछ ।
ब्रिसबेनको नेपाल फेष्टिभलमा प्रमुख अतिथिको रुपमा क्वीन्सल्याण्डका डेप्युटी प्रिमियर स्टेभन माईल्स छन् भने अन्य राजनीतिक नेतृत्व पनि सहभागी हुनेछन् ।
नेपाल फेष्टिभलमा एनआरएन आईसीसीका अध्यक्ष बद्री केसी, उपाध्यक्ष दुर्गा आचार्य, धर्मराज अधिकारी, सचिव होम पाण्डे, ओसेनिया क्षेत्रीय संयोजक दिनेश जोशी, एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा, एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुंग पनि सहभागी हुँदैछन् । एनआरएनले क्वीन्सल्याण्डका विभिन्न सामूदायिक संघसंस्थासँगको सहकार्यमा नेपाल फेष्टिभल आयोजना गर्न लागेको हो । नेपाल फेष्टिभलका मुख्य उद्देश्य यहाँ रहेका नेपालीहरुको एकता र नेपालको प्रबद्र्धन मुख्य रहेको संयोजक विनोदभक्त आचार्यले जानकारी दिए । आचार्यले १० हजारभन्दा बढीले नेपाल फेष्टिभलमा सहभागिता जनाउने अपेक्षा गरिएको बताएका छन् ।
प्रतिक्रिया