मंसिर र पुसमा बाघ गणनाको तयारी

मंसिर र पुसमा बाघ गणनाको तयारी


काठमाडौं, ८ कात्तिक । राष्ट्रिय निकुञ्जमा आगामी मंसिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार÷पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयारी अगाडि बढाएको छ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्जमा गणना गरिन लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार हिउँदका समयमा बाघ बाटोमा आउने हुँदा यो समय गणनाका लागि उपयुक्त मानिन्छ । झाडी सुक्दै गएपछि बाघ घाँसे मैदानमा बस्ने हुँदा गणना कठिन हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘पुस महिनाभित्रमा सम्पन्न गर्ने गरी बाघ गणना गर्ने तयारी गरिएको छ । क्याप्चर रिक्याप्चड विधिबाट बाघ गणना गरिन्छ ।’ दुई÷दुई ग्रिड अर्थात् चार वर्ग किलोमिटरमा एक जोडी क्यामेरा राख्ने गरिन्छ । कम्तिमा दुई हप्ता क्यामेरा राख्नुपर्ने उहाँको भनाइ छ ।

चितवन र पर्सालाई एउटा कम्प्लेक्स, बाँके र बर्दियालाई दोस्रो कम्प्लेक्स र शुक्ला र नजिकैको लालझाडी क्षेत्रलाई तेस्रो कम्प्लेक्स बनाएर गणना गरिँदै छ । सन् २०१८ मा गरिएको बाघ गणनामा नेपालमा २३५ बयस्क बाघ फेला परेका थिए । तत्कालीन समयमा चितवनमा ९३, बर्दियामा ८७, पर्सामा १८, शुक्लामा १६ र बाँकेमा २१ बाघ फेला परेका थिए । यो संख्या बढेको अनुमान छ । सन् २०१० मा रसियाको सेन्ट पिटर्सबग भएको बाघ पाइने १३ मुलुकका राष्ट्र प्रमुखको बाघ सम्मेलनमा नेपालले सन् २०२२ सम्ममा बाघको संख्या २ सय ५० पु¥याउने प्रतिबद्धता व्यक्त गरेको थियो ।

तत्कालीन समयमा नेपालका निकुञ्जमा १२१ बाघ रहेको तथ्यांक थियो । दोब्बरभन्दा बढी संख्या बनाउने नेपालको प्रतिबद्धता पूरा हुनेमा संरक्षण विधि विश्वस्त छन् । नेपालमा हरेक चार÷पाँच वर्षको अन्तरमा बाघ गणना गर्ने गरिन्छ ।