प्रदेश १ का वनमन्त्री एवं प्रदेश सभा सदस्यका उम्मेदवार थापाको निधन

प्रदेश १ का वनमन्त्री एवं प्रदेश सभा सदस्यका उम्मेदवार थापाको निधन


कार्तिक २३, काठमाडौँ । प्रदेश १ का वनमन्त्री तथा प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको पत्रकार हरि कोइरालाले जानकारी दिए ।

उम्मेदवारी मनोनयन दर्ताको भोलिपल्ट २४ असोजमा अचानक अस्वस्थ भएपछि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँ उपचार नभएपछि २५ दिन काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गरियो। गम्भीर प्रकारको निमोनिया देखिएपछि थप उपचारका लागि २७ असोजमा हेलिकप्टरमा काठमाडौँ ल्याइएको थियो ।

२५ दिन काठमाडौंमा उपचार गर्दा उनको स्वास्थ्यमा सुधार भएपछि आफन्तले विराटनगर ल्याएर नोबेल मेडिकल कलेजमा भर्ना गरेका छन्। स्वास्थ्यमा सुधार भए पनि अत्यधिक कमजोर भएका कारण उनलाई निरन्तर अक्सिजन सहयोगमा राखिएको थियो । उपचारकै क्रममा उनको बुधबार बिहान निधन भएको हो । प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षण मन्त्री रहेका थापा कांग्रेसका पुराना नेता हुन् ।

गिरिजाप्रसाद कोइरालाको आठ वर्ष निजी सचिव भएर काम गरेर थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । यो पटक उनलाई पार्टीले प्रदेशमा प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट डा.सुनिल शर्मा, एमालेबाट भानुभक्त ढकाल र राप्रपाबाट रेखा थापा उम्मेदवार छन् । क्षेत्र नम्बर ३ को प्रदेश ‘क’ मा एमालेबाट किशोर राई र कांग्रेसबाट थापा उम्मेदवार छन् ।