होबार्ट, तास्मानिया ।
अष्ट्रेलियाको टापु राज्य तास्मानियाको होबार्टमा आयोजना हुने पहिलो नेपाल फेष्टिभलको तयारी पूरा भएको छ । स्थानीय संसद भवन अगाडिको सोलामांका पार्कमा हुन लागेको नेपाल फेष्टिभल अघि नेपाली सांस्कृतिक परेड समेत गर्ने तयारी छ । यस पटकको नेपाल फेष्टिभलको प्रमुख सांगीतिक आकर्षण गायक दिपक बज्राचार्य र उनको रिदम व्याण्ड रहेको छ ।
नेपाल फेष्टिभलमा सहभागी हुनका लागि आज व्याण्डसहित दिपक बज्राचार्य नेपालबाट अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनले नेपालको चिनारी दिने नेपाल फेष्टिभलमा सहभागितालाई लिएर आफु उत्साही भएको बताएका छन् । विमानस्थलबाट प्रतिक्रिया दिँदै गायक बज्राचार्यले होबार्टसहित ब्रिसबेन, सिड्नी र पर्थमा हुने नेपाल फेष्टिभलमा आफुहरुको सहभागिता रहने जानकारी दिए । उनको टिममा लाखे र झाँक्री नाचका सहभागी पनि छन् ।
नेपाल फेष्टिभल तास्मानियाका संयोजक राकेश शाक्यले सम्पूर्ण तयारी पूरा भएको र अतिथिहरु आउने क्रम सुरु भइसकेको जानकारी दिए । उनले पहिलो पटक नेपालीहरुको भव्य उपस्थितिका बिच यहाँको बहुसांस्कृतिक समाजलाई नेपालको कला, संस्कृति, संगीत, खाना र संस्कारको परिचय दिन यो नेपाल फेष्टिभल सफल हुने आशा व्यक्त गरेका छन् ।
प्रतिक्रिया