मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बन्न लागेको नेपाली बहुसांस्कृतिक केन्द्रको निर्माणमा यहाँस्थित विपक्षी पार्टी लिबरलले २ मिलियन डलर अर्थात् २० लाख अनुदान दिने घोषणा गरेको छ । मेलबर्नमा आयोजना गरिएको एक फन्डरेजिंग कार्यक्रममा यस्तो घोषणा गरिएको भएपनि यसका लागि भने भिक्टोरियामा लिबरल पार्टीको सत्ता आएमात्र यो सहयोग प्राप्त हुनेछ ।
लिवरल पार्टीका नेता मेथ्यू गे ले लिवरल पार्टीले सरकार बनाएको अवस्थामा दुई मिलियन डलर सहयोग अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरलाई प्रदान गर्ने घोषणा गरे ।
अष्ट्रेलियाको भिक्टोरियास्थित डिगर्स रेष्टमा नेपालीहरुले बनाउन लागेको मन्दिर, गुम्बासहितको बहुसांस्कृतिक केन्द्रका लागि गुरुयोजना निर्माण गरी काम अघि बढाइएको छ । केही दिनअघि अलिहेको लेबर सरकारले मर्मतका लागि ३ लाख डलर बराबरको सहयोग गरिसकेको छ ।
अष्ट्रेलियन नेप्लिज मल्टीकल्चरल सेन्टरले करिब १ सय २० रोपनी जग्गामा रहेको चार कोठे भवनलाई मर्मत गर्नका लागि यो रकम खर्च गर्नेछ ।
अष्ट्रेलियन नेप्लीज मल्टिकल्चरल सेन्टरका अध्यक्ष राजेश आचार्यले यो घोषणा नेपाली समूदायको लागि खुशीको खबर भएको बताएका छन् । उनले अष्ट्रेलियाका राजनीतिक दलहरुले नेपाली समूदायको लागि खेल्ने भूमिकाले नेपालीहरुको प्रतिष्ठा प्रबद्र्धनमा सहयोग गर्ने धारणा राखे ।
एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा कानून व्यावसायी टोनु गोथानेको पहलमा भिक्टोरियन लिबरल फ्रेन्डस अफ नेपालले कार्यक्रम आयोजना गरेको थियो । उक्त फन्डरेजिंग डिनरमा बोल्दै लिबरल पार्टीका नेताहरुले जनाएको प्रतिबद्धताले भिक्टोरियावासी नेपालीहरुलाई नयाँ उत्साह थपिदिएको छ । केविसीखबरसँग कुरा गर्दै घोतानेले यदि २ मिलियन डलर प्राप्त भएमा बहुसांस्कृतिक केन्द्रका लागि प्राप्त हुने सबैभन्दा ठूलो सहयोग जुट्ने जनाए । उनले नेपाली समूदायलाई अष्ट्रेलियाको मुख्य राजनीतिक क्षेत्रसँग परिचित गराउन कार्यक्रम गरिएको बताए ।
उक्त कार्यक्रममा लाट्रोव क्षेत्रका मेम्बर अफ पार्लियामेन्ट जेसन उड, पूर्वी महानगर क्षेत्रका ब्रुस एटकिन्सन, विपक्षी दलका नेता पिटर डट्टनका सल्लाहकार कार्थिक आर्सु, सनवरी क्षेत्रका लागि लिबरलका उम्मेद्वार सिमोन कट्टन, ब्रोडमेडोजका लागि लिबरल उम्मेद्वार ब्रेस डुजोभा, पास्कोभेल क्षेत्रका लागि लिबरल पार्टीका उम्मेद्वार टोम राईट कार्यक्रममा उपस्थिति थिए ।
कार्यक्रममा नेपाली समूदायका नेताहरु सहभागी थिए । कार्यक्रममा बोल्दै लिबरल नेता जेसन उडले नेपाली समूदायका व्यक्तित्वहरुलाई लिबरलमा लागेर अघि बढ्न आह्वान गरेका थिए । यही महिना भिक्टोरियामा राज्यस्तरीय चुनाव हुँदैछ ।
प्रतिक्रिया