आजदेखि दलहरूले चुनावीसभा गर्न पाउने, एमालेको पहिलो चुनावी सभा खलंगामा

आजदेखि दलहरूले चुनावीसभा गर्न पाउने, एमालेको पहिलो चुनावी सभा खलंगामा


काठमाडौँ ।

राजनीतिक दलहरूले आज बिहीबारदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा र कोणसभा गर्न पाउने छन् ।

राजनीतिक दलहरूले आजबाट सञ्चारमाध्यममा निर्वाचनसम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्न समेत पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार राजनीतिक दलले मंसिर १ गतेसम्म यस्ता कार्यक्रम गर्न पाउने छन् ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ ।

उक्त दफा १३ को ९म० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था गरिएको छ ।

आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेश गर्नुपर्नेछ ।

दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने छन् ।

कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न–गराउन नहुने, उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने र कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचारप्रसार गर्न वा मत माग्न भने पाइँदैन ।

ओली भोलि दार्चुला जाँदै, एमालेको चुनावी सभा पश्चिमबाट
नेकपा (एमाले)ले चुनावी सभा पश्चिम नेपालबाट सुरु गर्ने भएको छ ।

एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान सुरु गर्ने भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसकेका छन् ।

सुदूरपश्चिम पश्चात ओली कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि लुम्बिनी पुग्नेछन् । उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्यतालिका तय भएको छ ।