मेलबर्न, अष्ट्रेलिया । नेप्लीज एशोसिएसन अफ भिक्टोरिया न्याभको आयोजनामा आईतबार मेलबर्नमा बाल दिवस मनाइएको छ । एक सयभन्दा बढी बालबालिकासहित चार सयको सहभागितामा सम्पन्न कार्यक्रममा विभिन्न ८ वटा भाषा विद्यालयका विद्यार्थीहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
मेलबर्नमा दोश्रो पुस्ताका नेपालीलाई नेपाली भाषा सिकाउनका लागि विद्यालयहरु सञ्चालित छन् ।
कार्यक्रममा उपस्थित भएका बालबालिकाहरुले नृत्य, गीतसहित सांस्कृति प्रस्तुति दिएका थिए । बाल दिवसमा सहभागीहरुका लागि विभिन्न प्रतिस्पर्धात्मक खेलकुदको पनि आयोजना गरिएको थियो ।
हाजिरीजवाफ लगायतमा समेत उनीहरु रमाएका थिए । स्थानीय कोबर्ग सिटी काउन्सिलको हलमा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बहुसंस्कृति आयोगकी अध्यक्ष भिभिन न्यूगेन थिइन् भने केही स्थानीय राजनीतिकर्मीको पनि उपस्थित थियो । बाल दिवस कार्यक्रमको संयोजन कृष्ण चालिसेले गरेका थिए भने बाल दिवस नियमित रुपमा मनाउने गरिएको भएपनि कोभिडका कारण दुई वर्षदेखि प्रत्यक्ष रुपमा भेला भई आयोजना गर्न सकिएको थिएन ।
प्रतिस्पर्धात्मक प्रस्तुतिमा उत्कृष्ट भएका बालबालिकालाई प्रमाणपत्र र एवार्ड प्रदान गरिएको थियो । कार्यक्रमपछि केविसीखबरसँग कुरा गर्दै न्याभका अध्यक्ष प्रेमराज उप्रेतिले बाल दिवसलाई सफल बनाउन सहयोग गर्न सबैमा धन्यवाद दिए ।
उनले आफ्नो भाषा, संस्कृतिको प्रबद्र्धन गर्न बालबालिकाको लागि न्याभले सिर्जना गरेको बृहद चौतारी भएको र यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया