पाँच वर्षभित्र साढे १२ लाखलाई रोजगारी दिने कांग्रेसको घोषणा

पाँच वर्षभित्र साढे १२ लाखलाई रोजगारी दिने कांग्रेसको घोषणा


काठमाडौँ ।

समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी सङ्कल्पपत्र सार्वजनिक गरेको छ । ‘संविधानको रक्षा, स्थायित्व र समुन्नतिसहितको आधारः नेपाली कांग्रेसको नेतृत्वमा अबको सरकार’ भन्ने मूल नारासहित कांग्रेसले निरन्तरतामा नवीनता र सम्मुनत नेपालको मार्गचित्रसहितका विषयवस्तु प्रस्तुत गरेको छ ।

कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशका लागि ल्याएको सङ्कल्पपत्रमा पाँच वर्षभित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम् वार्षिक सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रतिबद्धता जनाएको छ ।

‘ओम्निबस’ आर्थिक सुधारको नयाँ चरण प्रारम्भ गर्दै अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश पाँच दशमलव छ प्रतिशतबाट नौ प्रतिशत कायम गर्ने नीति लिइएको छ ।

कांग्रेसको प्रारम्भिक लक्ष्य तय गर्दै झन्डै ७५ वर्षअघि बिपी कोइरालाले कल्पना गरेको समुन्नत नेपालको अवधारणका आधारमा सङ्कल्पपत्र तयार गरिएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।