साउथ अष्ट्रेलियामा मनाइयो नेपाल सम्वत ११४३ तथा सामुहिक म्हः पुजा

साउथ अष्ट्रेलियामा मनाइयो नेपाल सम्वत ११४३ तथा सामुहिक म्हः पुजा


मेलबर्न अष्ट्रेलिया । साउथ अष्ट्रेलियामा नेपाल सम्वत ११४३ तथा सामुहिक म्हः पुजा भव्य रुपमा मनाइएको छ । बुधबार थेबार्टन कम्युनिटि हलमा गुठि साउथ अष्ट्रेलियाको सातौं म्हः पुजा सम्पन्न भएको हो ।

नेपाल आफैमा बहुसांस्कृतिक देश भएकाले हाम्रो संस्कृति रितिरिवाजलाई साउथ अष्ट्रेलियाबासिहरुबिच चिनाउने एउटा प्रयास स्वरुप म्हः पुजा कार्यक्रम तथा न्हुदया भिन्तुना आयोजना गर्दै आएको गुठीका सचिव सजिन प्रधानाङ्गले जानकारी दिए ।

उनले यस प्रकारका कार्यक्रमहरुले नेपालभित्रका रितिरिवाजहरुको संवर्धन गर्दै विदेशमा हुर्किदै गरेको दोश्रो पुस्ताले समेत आफ्नो संस्कृतिको बारेमा सिक्ने मौका पाउने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रमलाई ग्रेस इन्टरनेश्नल एडिलेड तथा विलन ट्याक्स र जुजु कृएटिभ स्टुडियो, किपाज्या फोटोग्राफीले प्रायोजन गरेको थियो। नेपाल सम्वत ११४३ तथा सामुहिक म्हः पुजा कार्यक्रममा १४२ जनाको सहभागिता रहेको थियो ।

राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल सम्वत्‌को शुरुआत गरेका थिए। नेपाल सम्वत्‌ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्‌को मान्यता पाएको थियो।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक सम्वत्‌समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत्‌ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए।

कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसहरूले आफ्नो आत्म (म्हः)पूजा पर्व मनाउने प्रचलन छ। मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत गरिन्छ।