प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट सर्वोच्चका न्यायाधीशहरुले बहिस्कार गर्ने

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट सर्वोच्चका न्यायाधीशहरुले बहिस्कार गर्ने


काठमाडौं, ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाउनुभएको फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने भएका छन् । प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको आइतबार अपराह्न बसेको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय गरेको हो ।

नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेट गरी तत्काल फुलकोर्टको बैठक राख्न आग्रह गरेका थिए । सोही अनुसार प्रधानन्यायाधीश जबराले सोमबार दिउँसो साढे १ बजे सर्वोच्चको पूर्ण बैठक अर्थात् फुलकोर्ट बनाउने प्रतिबद्धता जनाउनुभएको थियो । प्रधानन्यायाधीशकै कारण न्यायालय विवादमा परेको र यसले न्यायालयको गरिमामा आँच आएको कारण न्यायालय सुधारको काम तत्कालै सुरु गर्नुपर्ने माग बारको थियो । तर आइतबार नै सर्वोच्चका अधिकांश न्यायाधीशले अनौपचारिक छलफल गरी प्रधानन्यायाधीशले बोलाएको पूर्ण बैठकमा सहभागी नहुने निर्णय गरेका हुन् ।

प्रधानन्यायाधीशकै कारण अदालतको गरिमामा गम्भीर आघात पुगेको भन्दै अहिले उठेकै विवादका विषयमा छलफल गर्न न्यायाधीशहरूले पूर्ण बैठकको माग गरेका थिए । तर नेपाल बार एसोसिएसनको सहयोग लिएर विषयान्तर गर्न फुलकोर्टको बैठक डाकिएकाले सो बैठकमा सहभागी नहुने निर्णय भएको बताइएको छ ।