मुख्मन्त्री भीम आचार्यको पद ८ दिनका लागि जोगियो

मुख्मन्त्री भीम आचार्यको पद ८ दिनका लागि जोगियो


काठमाडौं, ७ कात्तिक । प्रदेश नं. १ का मुख्यमन्त्री भीम आचार्यको पद ८ दिनका लागि जोगिएको छ ।  मुख्यमन्त्री आचार्यले विश्वासको मत लिन आइतबार प्रदेशसभाको बैठक बोलाइएको भए पनि नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले बैठक स्थगित गर्न माग गरेपछि प्रदेश सचिवालयले कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगित गरेको हो । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जनाएको छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले प्रदेशसभा बैठक सार्न माग गरी निवदेन दिएकाले बैठक स्थगित गरिएको उल्लेख छ ।

मुख्यमन्त्री भीम आचार्यले शुक्रबार प्रदेशसभामा पेश गरेको विश्वासको मतसमबन्धी प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने आइतबारको बैठकको कार्यसूची रहेको थियो । तर विश्वासको मत दिने बेलामा आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्ने संकेत पाएपछि कांग्रेसले बैठक रोक्न माग गरेको थियो । यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएकाले कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न माग गर्दै सभामुखलाई निवेदन दिएको थियो ।

आचार्य भदौ १० गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । तर नेकपा एमाले विभाजित भएपछि उहाँ अल्पमतमा पर्नुभएको छ ।