आगामी चुनाव जितेर देखाउन प्रचण्ड र माधवलाई ओलीको चुनौती

आगामी चुनाव जितेर देखाउन प्रचण्ड र माधवलाई ओलीको चुनौती


काठमाडौं, ७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन जितेर देखाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई चुनौती दिनुभएको छ । झापामा पार्टी प्रवेश कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेकै कारण मात्र गत निर्वाचनमा जितेको दाबी गर्दै आगामी निर्वाचनमा जितेर देखाउन चुनौती दिनुभएको हो । उहाँले माओवादी र माधव नेपालको पार्टीले अरुले उमारेको जुँगामा ताउ लाइरहेको पनि बताउनुभयो । ‘प्रचण्डले अब जितेर देखाउन् त, माधव नेपालले जितेर देखाउन् त ?’ ओलीको भनाइ थियो । उहाँले एमालेबाट गएका अरु नेता कार्यकर्ता फर्किए स्थान दिने भन्दै माधव नेपाललाई अव एमालेले कुनै स्थान दिन नसकिने बताउनुभयो । ‘माधव नेपाललाई अब एमालेले कुनै स्थान दिँदैन, उनी कम्युनिस्ट आन्दोलन विरोधी हुन्, गद्दार हुन्’, ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले सरकार र सत्तारुढ दलहरुलाई खराव काम गर्नेहरुको संज्ञा दिँदै बुझीबुझी एमालेको इस्र्याका कारण देशलाई नै समाप्त पार्ने प्रयासमा लागेको बताउनुभयो । ‘प्रतिकृयावादीसँग साँठगाँठ गरिरहेका छन्, वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थी सरकार बनाउने गरेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकारले केही गर्न नसक्ने दाबी गर्नुभयो । ‘तीन महिनामा २५ जना मन्त्री भए एउटा मन्त्री तीन दिनमै फुस्किए । प्रधानमन्त्री वातावरणसम्बन्धी वेलायत जाँदै हुनुहुन्छ तर राजदूत फिर्ता बोलाएका छन्,अरु कारण छैन । एमालेले नियुक्त गरेका कारण राजदूत फिर्ता गरेका हुन्’, ओलीको भनाइ थियो ।

उहाँले नेकपा एमालेले जनता र राष्ट्रको हितमा काम गर्ने भन्दै स्वार्थका लागि अवाञ्छित सम्झौता नगर्ने दावी समेत गर्नुभयो । उहाँले एमाले नेतृत्वको सरकारले गरेका कामले राष्ट्रको शीर माथि उठाएको समेत बताउनुभयो ।

कार्यक्रममा एमाले नेता सुवास नेम्वाङले जनताको मतबाट प्रधानमन्त्री भएका केपी शर्मा ओली सर्वोच्च अदालतको परामदेशबाट हटाइएको बताउनुभयो । उहाँले परमादेशबाट कम्युनिस्ट नेतृत्वको सरकार हटाएर शेरबहादुर देउवा नेतृत्वको सरकार बनेसँगै नेकपा एमाले र केपी शर्मा ओलीप्रति जनताको माया र आकर्षण बढेको दावीसमेत गर्नुभयो ।