सिड्नीको बरउड पार्कमा नोभेम्बर १९ नेपाल फेष्टिभल हुँदै, नेपालको झल्को पाइने !

सिड्नीको बरउड पार्कमा नोभेम्बर १९ नेपाल फेष्टिभल हुँदै, नेपालको झल्को पाइने !


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियामा जनसंख्याको हिसाबले सबैभन्दा ठूलो शहर सिड्नीमा आगामी नोभेम्बर १९ तारिखका दिन नेपाल फेष्टिभल आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ अष्ट्रेलिया न्यूसाउथवेल्स राज्य समितिको आयोजनामा हुन लागेको नेपाल फेष्टिभल यस पटक भने स्थानीय बरउड पार्कमा हुनेछ । नेपालीहरुको बाक्लो उपस्थिति र बसोबास रहेको एशफिल्ड नजिकै बरउड पार्कमा गर्न लागिएको नेपाल फेष्टिभलमा यस पटकको आकर्षण दिपक बज्राचार्य र उनको रिदम व्याण्ड रहेको छ भने यस बाहेक विविध गतिविधि, स्टलहरु र सांस्कृतिक प्रस्तुतिले आम दर्शकहरुलाई दिनभर नै मनोरञ्जन दिलाउने योजना छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यूसाउथवेल्स राज्य समितिका संयोजक देव गुरुंगले अहिले प्रचार प्रसार र तयारी तिव्र गतिमा अघि बढेको जानकारी दिएका छन् । हालै सामूदायका सदस्यहरुसँग नेपाल फेष्टिभलमा कस्तो कार्यक्रमहरु समेट्नुपर्छ भन्ने विषयमा छलफल सम्पन्न गरेको एनआरएन न्यूसाउथवेल्सले नेपाल फेष्टिभलमा आफ्नो प्रस्तुति दिने कलाकारहरुबाट आवेदन समेत मागेको छ ।

यस पटकको नेपाल फेष्टिभलको मुख्य प्रायोजक क्वीन्सफोर्ड कलेज रहेको छ । यस्तै अन्य व्यवसायिक संघ संस्थाले पनि सघाएका छन् ।

नेपाल फेष्टिभल सम्पन्न गर्न स्टल व्यवस्थापनमा एनआरएन अष्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, नेपाल हाउस सञ्चालनमा डेप्युटी कोअर्डिनेटर स्वीकृति भट्ट, आईटीतर्फ सचिव विनोद कुँवर, व्यवस्थापनमा कोषाध्यक्ष भावना श्रेष्ठ, सांस्कृतिक प्रदर्शन तथा मञ्च व्यवस्थापनमा ओसेनिया महिला संयोजक उषा बारिया, परेड व्यवस्थापन एनआरएन अष्ट्रेलिया सचिव सन्ध्या शाहले संयोजन गर्नेगरी तयारी अघि बढेको हो ।

अष्ट्रेलियामा हुर्किदै गएको नेपालीको नयाँ पुस्ताले आफ्नो प्रस्तुतिहरु हजारौं दर्शकमाझ प्रस्तुत गर्नेछ । नेपालको भाषा, संस्कृति, भेषभूषाका विषयमा आफ्नो जानकारीलाई नवीकरण गर्नेछ भने आफ्ना अष्ट्रेलियन साथभिाईलाई आफ्नो उद्गमस्थलको बारेमा समेत बताउन सक्ने हुनेछ ।

– DEB Gurung, VP NRNA Australia, coordinator NRNA NSW

नेपाल फेष्टिभल आयोजनाका लागि नेपाली दूतावास, महावाणिज्यदूतको कार्यालय र नेपाल पर्यटन बोर्डको समेत सहकार्य रहनेछ । यस्तै न्यूसाउथवेल्समा रहेका विभिन्न सामूदायिक संघसंस्थाले पनि सहभागिता जनाउने भएका छन् ।

नेपाल फेष्टिभलको आयोजनाले अष्ट्रेलियाको नेपाली समूदायलाई के दिन्छ भन्ने हाम्रो प्रश्नमा न्यूसाउथवेल्स संयोजक देव गुरुंगले भने, “दिनभरिको सांस्कृतिक प्रस्तुतिमा अष्ट्रेलियामा हुर्किदै गएको नेपालीको नयाँ पुस्ताले आफ्नो प्रस्तुतिहरु हजारौं दर्शकमाझ प्रस्तुत गर्नेछ । नेपालको भाषा, संस्कृति, भेषभूषाका विषयमा आफ्नो जानकारीलाई नवीकरण गर्नेछ भने आफ्ना अष्ट्रेलियन साथभिाईलाई आफ्नो उद्गमस्थलको बारेमा समेत बताउन सक्ने हुनेछ ।”