तास्मानिया, अष्ट्रेलिया । पहिलो पटक हुन लागेको ‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ को तयारी अन्तिम चरणमा पुगेको छ । नोभेम्बर ६ तारिखका दिन तास्मानियाको पर्लामेन्ट्री गार्डन सालामन्का होबर्टमा हुन लागेको ‘नेपाल फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको एनआरएन तास्मानियाका संयोजक राकेश शाक्यले जानकारी दिए ।
कार्यक्रममा आउने अतिथिदेखि कलाकारहरुको टुंगो लागेको उनले बताए । तास्मानियाका अधिकांश नेपाली व्यवसायीले प्रयोजक बनेर नेपाल फेस्टिभललाई सहयोग गरेको उनले बताए । कार्यक्रममा नेपालका चर्चित कलाकार दिपक बज्राचार्यको ‘द रिदम’ बैण्डले प्रस्तुति दिने शाक्यले बताए।
पहिलो पटक तास्मानियामा हुन लागेको नेपाल फेस्टिभललाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति बनाएर काम भइरहेको उनले बताए । फेस्टिभलमा परेड, नेपाललाई चिनाउने नेपाल हाउस, नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति दिने उनको भनाइ छ ।
उक्त कार्यक्रममा नेपाली र स्थानीय गरेर झण्डै १० हजार दर्शकहरु उपस्थित गराउने लक्ष्य लिएको संयोजक शाक्यले बताए । उनले यस पटक तास्मानियामा रहेका नेपाली भाषी भुटानीलाई पनि सहभागी गराउने प्रयास भइरहेको पनि जानकारी दिए । तास्मानियामा रहेका नेपाली भाषी समाजिक संघ–संस्था, खेलकुदसँग सम्बन्धित संघ–सस्थाको पनि राम्रो सहयोग मिलिरहेको उनले बताए । नेपाल फेस्टिभललाई लिएर तास्मानियामा रहेका नेपालीको प्रतिक्रिया सकरात्मक पाएको संयोजक शाक्यले बताए ।
‘नेपाल फेस्टिभल तास्मानिया २०२२’ लाई केबिए ग्लोबल एजुकेसन एन्ड माइग्रेसन र आरजिआइटी अस्ट्रेलियाले मुख्य प्रायोजन गरेका छन्।
प्रतिक्रिया