तास्मानिया, अष्ट्रेलिया ।
नेपाली सोसाइटी अफ तास्मानियाले दसैँ कप दोस्रो संस्करण सुरु गर्ने भएको छ । यही अक्टोबर १५ तारिखका दिन हुन गइरहेको खेलमा पाँच टिमको सहभागिता रहने छ ।
संस्थाको होबार्टस्थित आफ्नै कार्यालयमा शनिबार भएको पत्रकार सम्मेलनमा खेलका नियमका बारेमा जानकारी गराउनुका साथै ग्रुप विभाजन गरिएको थियो । जसमा ग्रुप ‘ए’ मा लन्चेस्टन नेप्लिज फुटबल क्लब, नेप्लिज फुटबल क्लब तास्मानिया, भुटनिज कमिनिटी अफ साउथर्न तास्मानिया परेका छन् भने ग्रुप ‘बी’ मा तिलिचो फुटबल क्लब, लन्चेस्टन टाकिन फुटबल क्लब र खुकुरी फुटबल क्लब परेका छन् ।
उक्त कार्यक्रममा बोल्दै सोसाइटीका अध्यक्ष तोयाराज भट्टराईले खेलकुदको माध्यमाबाट समाजलाई एकीकृत गराउने भावना र शारीरिक विकासको लागि टेवा पुग्ने गरी कार्यक्रमको आयोजना गरेको जानकारी दिए । संस्थाले गत वर्षबाट सुरुवात गरेको दसैँ कपको निरन्तरता पनि भएको उनले बताए ।
दसैँ कप दोस्रो संस्करणमा सहभागी जनाउने क्लबका प्रतिनिधि सहभागी रहेको उक्त पत्रकार सम्मेलनमा विभिन्न संघ–संस्थाका पदाधिकारी तथा सामाजिक अभियन्ताको पनि अपस्थिति रहेको थियो । एनआरएन तास्मानियाका संयोजक राकेश शाक्यले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । नेप्लिज क्रिकेट एशुसेसन तास्मानियाका अध्यक्ष बाबुराम न्यौपानेले यस्ता कार्यक्रम गर्दा आइपर्ने समस्या र चुनौतीका बारेमा धारणा राख्दै दसैँ कप दोस्रो संस्करणलाई सफलता पूर्वक सम्मन्न गर्न आफूले सक्दो सहयोग गर्ने बताए ।
गतवर्ष गरेको पहिलो दसैँ कपको स्मरण गर्दै संस्थाका पूर्व अध्यक्ष खगेन्द्र सत्यालले बिमा र प्राथमिक उपचारको बारेमा सजग हुनुपर्ने सुझाव दिएका थिए ।
लिग चरणको खेल १५ अक्टोबरबाट वारिअर पार्क फुटबल पिच वारानेमा हुँदैछ । उक्त फुटबल प्रत्योगीतामा पहिलो हुनेले १५ सय अष्ट्रेलियन डलर, मेडल र प्रमाणपत्र, दोस्रो स्थान प्राप्त गर्ने टिमले एक हजार अष्ट्रेलियन डलर, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीको अवार्ड फेयर प्ले अवार्ड उत्कृष्ट गोलकिपरको अवार्ड स्कोरर पुरस्कारको समेत व्यवस्था गरिएको उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
उक्त कार्यक्रममा सहभागीताका लागि सोसाइटीका सचिव विष्णु भट्टराईले तास्मानियामा रहेका सम्पूर्ण नेपालीवासीलाई अनुरोध गरेका छन् । कार्यक्रमको संचालन सोसाइटीका उपाध्यक्ष केराज खनालले गरेका थिए ।
प्रतिक्रिया