पाँचदलीय गठबन्धन प्रतिगामी भएको एमाले अध्यक्ष ओलीको आरोप

पाँचदलीय गठबन्धन प्रतिगामी भएको एमाले अध्यक्ष ओलीको आरोप


काठमाडौं, ६ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता साझेदार पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाउनुभएको छ । पार्टीको वडा अधिवेशनको भर्चुअल विधिबाट शनिबार उद्घाटन गर्दै अध्यक्ष ओलीले तीन महिनाको अवधिमा पाँच दलीय गठबन्धनको असली रुप देखिएको बताउनुभयो । ‘प्रतिगामी शक्ति अहिले गठबन्धनको नाममा आइरहेका छन्, यसमा कुनै भ्रम रहनु हुँदैन, दुविधामा रहनु हुँदैन, यो तीन महिनामा देखिइसकेको छ,’ ओलीले भन्नुभयो, ‘देशलाई अस्थिरतामा धकेल्ने, अग्रममनमा जान नदिने भइरहेको छ । उहाँले स्वेच्छाचारी, मनपरीतन्त्र देशमा लागू गर्ने अनुशासनहीनता अराजकता राज्यस्तरबाटै गर्ने क्रियाकलाप भइरहेको आरोप लगाउँदै यो प्रतिगामनको बाटो भएको बताउनुभयो ।
अध्यक्ष ओलीले प्रतिगामी गतिविधिको नेतृत्व पाँच दलीय गठबन्धनले गरेको आरोप लगाउनुभयो । ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने, प्रतिक्रियावादीको पाउमा सेवा अर्पण गर्ने, दक्षिणपन्थी जनविरोधी, दिशाहीन सरकार स्थापना गर्ने काम भएको छ’ उहाँले भन्नु्भयो । उहाँले गत असोज १५ र १६ गते भएको विधान महाधिवेशन सर्वसम्मत रुपमा भएकामा विरोधीहरु अचम्ममा परेको भन्दै छ हजार प्रतिनिधिबीच सौहाद्र्धपूर्ण छलफल देखेर विरोधीहरुले व्यक्तिको पार्टीजस्तो भएको भनेर लान्छना लगाएको पनि बताउनुभयो ।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा हरेक तहमा शान्दार ढंगले बहुमत ल्याउने गरी एमालेले तयारी गरिरहेको जानकारी दिँदै सोही अनुसार पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।