ब्रिसबेनको मुटुमा ‘नेपाल फेस्टिभल २०२२’ हुँदै, परेड पनि गरिने

ब्रिसबेनको मुटुमा ‘नेपाल फेस्टिभल २०२२’ हुँदै, परेड पनि गरिने


क्विन्सल्याण्ड अष्ट्रेलिया ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया क्विन्सल्याण्ड राज्यसमेतले ‘नेपाल फेस्टिभल २०२२’ को आयोजना गर्ने भएको छ। नेपाल फेस्टिभलको तयारीका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नोभेम्बर १३ तारिख (आइतबार) किंगस जर्ज स्क्वायरमा कार्यक्रमको आयोजना गरिने जानकारी गराइएको हो। 

झण्डै ९० हजार अष्ट्रेलियन डलर खर्च लागत अनुमान गरिएको नेपाल फेस्टिभलको तयारी भइरहेको एनआरएन क्विन्सल्याण्डका संयोजक विनोद भक्त आचार्यले जानकारी दिए। उनले यस पटकको नेपाल फेस्टिभलका लागि क्विन्सल्याण्ड सरकारले पनि आर्थिक सहयोग गरेको जानकारी दिए। साथै उनले कार्यक्रम सम्पन्न गर्न चाहिने थप रकमका लागि प्रयोजक खोज्ने कार्य भइरहेको बताए।

१० हजार जना सहभागी गराउने उद्देश्य लिएको नेपाल फेस्टिभल ब्रिसबेनको प्रचार प्रसारलाई तीव्र पारिएको संयोजक आचार्यले बताए। प्रचार प्रसारका लागि सामाजिक सञ्जाल तथा पम्पलेटको प्रयोग गरिने उनको भनाइ छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत केलाशराज पोखरेल प्रमुख अतिथि हुने कार्यक्रम नेपाल फेस्टिभलमा राज्य सरकारका मन्त्री देखि स्थानीय सरकारका प्रमुखलाई निमन्त्रणा गरिएको उनले बताए। औपचारिक कार्यक्रम सुरु हुनु भन्दा अगाडी विभिन्न नेपाली समुदायको भेषभुषा सहितको परेड गरिने छ। यस पटकको परेडमा किरात भेषभुषलाई पनि सहभागी गराउने उनले जानकारी दिए। 

कार्यक्रम अवधिभर नेपाली भाषासहितका सांगीतक नाच गान हुने र कार्यक्रममा दिपक बज्राचार्य सहितको नेपाली ब्यान्डले कार्यक्रमको अन्तपछि आफ्नो प्रस्तुति दिनेछ। साथै स्थानीय कलाकारले पनि कार्यक्रममा सहभागीलाई मनोरञ्जन दिने उनले बताए। 

नेपाली कला सांस्कृतिक र नेपाली परिकारको प्रवर्द्धनको हेतुले गरिने उक्त कार्यक्रममा सहभागीलाई एनआरएन ब्रिसबेनले सबैलाई आग्रह गरेको छ। नेपाली फेस्टिभल ब्रिसबेनको टाइटल स्पोन्सर एक्सपोर्ट एजुकेशन सर्भिस रहेको छ। 

एनआरएनले नेपाल फेस्टिभल दुई–दुई वर्षमा अष्ट्रेलियाका विभिन्न सहरमा गर्ने गर्दछ।