लगानीमा ब्याजदर बढ्दैन : गभर्नर

लगानीमा ब्याजदर बढ्दैन : गभर्नर


काठमाडौं, ६ कात्तिक । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्ने र औद्योगिकीकरणलाई प्रवद्र्धन गर्नेगरी नीतिगत व्यवस्था गरिने बताउनुभएको हो । वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाइरहेको र चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको समय पनि नजिकिइरहेका बेला परिसंघका अधिकारीले गभर्नर अधिकारीलाई भेटेका हुन् । बैंक तथा वित्तीय संस्थाहरूमा अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउँदै उहाँले त्यसलाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशिका जारी गरेको पनि उल्लेख गर्नुभयो । ‘बैङ्क तथा वित्तीय संस्थाको ब्याजदर वाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहन्छ,’ उहाँले भन्नुभयो, ‘यसबाट लगानीको ब्याजदर स्थिर हुने राष्ट्र बैङ्कको अपेक्षा छ ।’
छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा तरलता अभावले निक्षेपमा ब्याजदर बढाइरहेकाले आगामी दिनमा कर्जामा समेत ब्याज बढ्ने औँल्याउँदै मुलुकमा लगानी महँगो हुने चिन्ता जनाउनुभएको थियो । परिसंघले तरलता समस्या कम गर्न स्थानीय सरकारको बैङ्कमा जम्मा रहेको सम्पूर्ण रकमलाई निश्चित समयलाई कर्जा–निक्षेप अनुपातमा गणना गर्न दिने व्यवस्था गराइदिन राष्ट्र बैङ्कलाई आग्रह गरेको छ । चालू मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्दा ९० प्रतिशत कर्जा–निक्षेप अनुपात कायम गर्नुपर्ने नियम ल्याएको थियो । यसअनुसार आकलन गरिएकोभन्दा कम तरलता उपलब्ध भएकाले सो नियमलाई आगामी पुस मसान्तसम्म ९५ प्रतिशत कर्जा–निक्षेप अनुपात कायम गर्न सुझाइएको छ ।