संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको छ : पूर्वराष्ट्रपति डा यादव

संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको छ : पूर्वराष्ट्रपति डा यादव


जनकपुरधाम । पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्रमाथि पुनः कालो बादल मडारिन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

जनकपुरधामस्थित पुरानो ऐतिहासिक सरस्वती नमूना माध्यमिक विद्यालयको नयाँ भनव शिलान्यास कार्यक्रममा आज बोल्नुहुँदै पूर्वराष्ट्रपति डा यादवले पछिल्लो समय संविधान र लोकतन्त्रमाथि हमला हुने काम भएकाले पुनः मुलुकमा निरङ्कुशता जन्मिने खतरा बढेको बताए ।

उनले जनता सजग र सचेत नभए पुनः मुलुकमा प्रतिगमन आउन सक्ने उल्लेख गर्नुहुँदै सबै निकाय संविधानको मर्म र भावनाअनुसार अघि बढ्न सकेमात्र संविधानको रक्षा हुने बताए ।

दुई–दुई पटक दुवै सदनबाट पारित भएको नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेर राष्ट्रपतिले संविधान उल्लङ्घन गर्ने काम गरेको टिप्पणी गर्दै उनले संविधानमा राष्ट्रपतिलाई एक पटक पुनर्विचारका लागि विधेयक फिर्ता गर्न सक्ने अधिकार भए पनि दुई पटक फिर्ता गर्ने अधिकार नभएको जिकिर गरे ।

अनधिकृतरूपमा भइरहेको चुरे दोहनका कारण तराई मधेस क्षेत्र मरुभूमि बन्ने अवस्थामा पुग्नै लाग्दासमेत सरकारले चुरे क्षेत्रको संरक्षणमा सरकारको ध्यान पुग्न नसकेको उनले गुनासो गरे ।

“पहिला तराई क्षेत्र तराई थियो, यहाँ पर्याप्त पानी हुन्थ्यो, धान गहुँ पर्याप्त मात्रामा उत्पादन हुन्थ्यो”, पूर्वराष्ट्रपति डा यादवले भने, “तर अहिले तराई मधेसमा पानीको समस्या देखिएको छ, खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ।” यसको प्रमुख कारण अनधिकृतरूपमा भइरहेको चुरे दोहन र चुरेको विनास भएको उनको भनाइ थियो ।

शिक्षाको स्वामित्व समाजले नलिएसम्म शिक्षा क्षेत्रले अपेक्षित परिणाम दिन नसक्ने जिकिर गर्दै उनले सरकारको मात्र मुख हेरेर नभई शिक्षाको स्वामित्वसँगै निगरानी समाजले लिनुपर्नेमा जोड दिए । समुदायले शिक्षाको महत्व नबुझेसम्म शिक्षा क्षेत्र अघि बढ्न नसक्ने र बेरोजगारी समस्यासमेत समाधान नहुने उल्लेख गर्दै उनले समुदायले शिक्षा हाम्रो हो, हामी शिक्षा क्षेत्रलाई अघि बढाउनुपर्छ भन्ने मनोभावना नलिएसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताए ।

“पहिला पहिला समाजले शिक्षालाई महत्वका साथ लिन्थ्यो, निगरानी गर्दथ्यो त्यसैले त्यतिबेला सरकारी विद्यालयको स्तरमाथि थियो ठूला ठूला विद्वान् उत्पादन गर्दथ्यो”,उनले भने, “तर अहिले समाजलाई शिक्षासँग कुनै मतलब छैन, निजी विद्यालय थुप्रै खुलेका छन्, सरकारी विद्यालयका शिक्षक राजनीतिमा लागेका छन्, विद्यालयको अवस्था बेहाल छन्, जसका कारण शिक्षा क्षेत्र तहसनहस हुँदै गएको छ ।” त्यसैले समुदाय, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि सबैले विद्यालय हाम्रो हो, हामीले बनाउनुपर्छ भन्ने भावना जागृत गर्नुपर्छ उनको भनाइ थियो ।