नेकपा एमालेको वडा अधिवेशन आज हुँदै

नेकपा एमालेको वडा अधिवेशन आज हुँदै


काठमाडौं, ६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ । देशभरका करिब ६ हजार ७ सय ४३ वडामा एमालेले एकैपटक पहिलो अधिवेशन गर्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा अधिवेशनको उद्घाटन गर्नुहुने छ । उद्घाटनसँगै अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर ओलीले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको हो ।
एमाले केन्द्रले सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न र सहमति नभएका ठाउँमा लोकतान्त्रिक विधिबाट निर्वाचन गर्न सर्कुलर गरेको छ । यस्तै आउँदो ९ गते ७ सय ५३ पालिकामा अधिवेशन भइ नयाँ नेतृत्व चयन गर्ने तयारी गरिएको छ ।
अधिवेशनमा स्थानीयस्तरमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक र उपसचिव दुई रहनेछन् । गाउँ नगरपालिका–७५, उपमहानगरपालिका–८५, महानगरपालिका–१०१ सदस्य चुनिनेछन् । एमालेको दशौँ महाधिवेशन आउँदो मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भइसकेको छ ।