वाह ! वाह ! र ‘ताली’ काबीच ब्रिसबेनमा सकियो ‘गजल मुशायरा २०२२’

वाह ! वाह ! र ‘ताली’ काबीच ब्रिसबेनमा सकियो ‘गजल मुशायरा २०२२’


मेलबर्न अष्ट्रेलिया ।

वाह ! वाह ! र ‘ताली’काबीच ब्रिसबेनमा आयोजित गजल मुशायरा सकिएको छ । गजल मुशायरा परिवारले शनिबार ब्रिसबेनमा आयोजना गरेको उक्त कार्यक्रम स्रष्टाहरूको गजल वाचनमा सहभागीले वाह वाह र ताली पड्काएर गजल मुसाएर २०२२ लाई समापन गरेका हुन्। 

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले प्रस्तुत गरेको उक्त कार्यक्रम १२ संस्करण हो। अष्ट्रेलियाभरिबाट आएका २३ जना गजलकारहरुले आ-आफ्ना गजल वाचन गरेका थिए भने, नेपाल आईडल सिजन-२ का उपविजेता बिक्रम बरालको विशेष प्रस्तुति दिएका थिए। 

उक्त कार्यक्रम चेतन सापकोटाले गजल गायन र एलिना न्यौपाने र जमुना सुबेदीले गजल नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रमको संयोजन डा. केशव शर्माले गरेका थिए। गजल मुशायरा परिवारले सन २०१४ देखि अष्ट्रेलियाको सिड्नीबाट शुरु गरेको यो कार्यक्रम हालसम्म अष्ट्रेलियाको विभिन्न सहर र अष्ट्रेलिया  बाहिर मलेसिया र नेपालमा गरी १२ वटा सफल संस्करणहरू प्रस्तुत भइसकेको गजल मुशायरा अभियानका संस्थापक एवम् संयोजक जितेन्द्र मल्लले बताए। 

यस पटकको कार्यक्रमको सह आयोजकको रूपमा अनेसास ब्रिसबेन च्याप्टर र सहयोगीको रूपमा गैर आवासीय नेपाली संघ, अष्ट्रेलिया रहेको थियो। 

गजल मुशायराको पछिल्लो संस्करणमा ब्रिसबेनबाट डा. केशव शर्मा, राजेश्वरी रेग्मी आचार्य, लक्ष्मी खड्का, सफल घिमिरे, हरिराज अधिकारी, शिशिर सिंखडा, बिक्रम तिमल्सिना, कृष्ण सर्मपण, वसन्त सुवेदी, त्यसैगरी सिड्नीवाट अशोक शर्मा, उत्सव आर सी, ओमराज अधिकारी,  जितेन्द्र मल्ल, आदर्श खत्री, शिवजी भण्डारी, सिर्जना थापा, तास्मानियाबाट ईश्वर पौडेल,  मेलवर्नबाट लक्ष्मण सञ्ज्याल, रमेश अधिकारी, कल्याण अधिकारी, एवम् क्यानबेरावाट बिनायक अधिकारी, तुल्सा पाण्डे र सुलभ दंगालले गजल वाचन गरेका थिए । कार्यक्रममा स्थानीय अगुवा, गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका प्रतिनिधि, विभिन्न बिधामा कलम चलाउने स्थानीय साहित्यकार, समाजसेवीलगायत सञ्चारकर्मीहरुको समेत उल्लेख्य सहभागिता रहेको  थियो । 

कार्यक्रमको अवसरमा  गजलकार बसन्त वली बसन्तीको “बोई” गजल संग्रहको लोकार्पणसमेत गरिएको थियो । गजल मुशायरा परिवारले गजल मुशायरा कार्यक्रमको अवसरमा अग्रज गजलकारहरूलाई सम्मान पनि गरेको थियो। 

गजल मुशायरा परिवारले नयाँ सर्जकहरूलाई गजल लेखन सम्बन्धित अन्तरक्रिया  कार्यक्रमको आयोजना गर्ने, नियमितरुपमा साहित्यिक जमघटहरु गर्ने, अनौपचारिक रूपमा गजल सुन्ने सुनाउने कार्यक्रमहरुको समेत आयोजना गर्दै आएको छ। 

कार्यक्रममा सहभागीता जनाउने र प्रत्यक्ष एवम् परोक्ष रूपमा कार्यक्रमलाई सहयोग गर्ने सबैलाई गजल मुशायरा परिवारले धन्यवाद ज्ञापन गरेको थियो।