नेपाली सोसाइटी अफ तास्मानियाको भेटघाट कार्यक्रम सम्पन्न

नेपाली सोसाइटी अफ तास्मानियाको भेटघाट कार्यक्रम सम्पन्न


तास्मानिया होबार्ट । नेपाली सोसाईटी अफ तास्मानियाले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। संस्थाको नव गठित कार्यसमितिले होबार्टमा रहेका नेपाली संघ–संस्था र नेपाली समुदायबीच आइतबार डोलोसा पार्कमा भेटघाट कार्यक्रम गरेको हो।

उक्त कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष, एनआरएनए तास्मानियाका संयोजक र तास्मानिय क्रिकेट एसोसिएसनका अध्यक्ष र यहाँ रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष तोयाराज भट्टराईले आगामी दिनमा तास्मानियामा रहेका नेपाली संघ–संस्थाहरूसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता गरेका थिए। उनले नेपाली दोस्रो पुस्ताको लागि खोलिएको नेपाली पाठशालालाई व्यवस्थित गर्न एक जना शिक्षक पनि नियुक्त गरेको जानकारी दिए। अध्यक्ष भट्टराईले तास्मानियावासी सबै नेपालीलाई सोसाइटीमा जोडिन आग्रह गरेका थिए।

कार्यक्रममा बोल्दै सोसाइटीका सचिव विष्णु भट्टराईले उपस्थित सम्पुर्णलाई स्वागत गरेका थिए। कार्यक्रमको संचालन सोसाइटीका उपाध्यक्ष केराज खनालले गरेका थिए।

कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष खगेन्द्र सत्यालले भित्र जे जस्तो भएपनि बाहिर नेपालीहरु एक भएर जाँदा यहाँको राज्य सरकारबाट भरपुर सहयोग लिन सकिने धारणा राखे । पूर्वअध्यक्ष अर्जुन प्रसाईँले सोसाइटीले आफ्नो कला संस्कृतीलाई बहु सांस्कृतिक कार्यक्रम पनि देखाउनु पर्नेमा जोड दिए। पूर्वअध्यक्ष पुनम पन्तले अबको कार्यसमितिले घरेलु हिंसा र महिला हिंसका बारेमा जनचेतनाका कार्यक्रममालाई पनि अगाडी बढाउनु पर्ने बताइन् ।

यस्तै गैर आवसीय नेपाली संघ तास्मानियाका संयोजक राकेश शाक्यले एनआरएनले यहाँ रहेका नेपाली संघ–संस्थाको अभिभावकीय भूमिका निर्वाह गर्दै सबैलाई एकीकृत गरेर आफूहरू अगाडी बढ्न तयार रहेको बताए।

तास्मानिया क्रिकेट एसोसिएसनका अध्यक्ष बाबु न्यौपानेले लामो समयदेखि सोसाइटीका हरेक गतिविधिमा सहकार्य गर्दै आएकाले यहाँ रहेका सबै नेपाली संघ–संस्थाले मिलेर जानुको विकल्प नरहेको बताए। साथै उनले संस्थाको कार्य प्रगतिको कामना पनि गरे।