नेपालको राष्ट्रिय दिवस, नेपाली दूतावास क्यानबेरामा कार्यक्रम

नेपालको राष्ट्रिय दिवस, नेपाली दूतावास क्यानबेरामा कार्यक्रम


क्यानबेरा, अष्ट्रेलिया ।

नेपालको राष्ट्रिय दिवसको अवसर पारेर सोमबार क्यानबेरामा विशेष कार्यक्रम गरिएको छ । हरेक वर्ष संविधान जारी भएको दिन अर्थात् सेप्टेम्बर १९ मा विदेशस्थित कुटनीतिक नियोगहरुमा नेपाल दिवस मनाउने गरिएकोमा यो वर्ष पनि क्यानबेरामा झण्डोत्तोलन सहितका कार्यक्रमहरु राखिएका थिए ।

विहान अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले दूतावासमा झण्डोत्तोलन गरेका थिए भने साँझ विशेष सांस्कृतिक कार्यक्रमसहित रात्रीभोजको आयोजना गरिएको थियो । कार्यक्रममा क्यानबेरामा रहेका विभिन्न देशका राजदूतहरुका साथै दूतावासका प्रतिनिधिहरु सम्मिलित थिए । उक्त अवसरमा विदेश मन्त्रालयको प्रोटोकल प्रमुख ईयान म्याकोन्भेल प्रमुख अतिथिको रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा बोल्दै राजदूत दाहालले नेपाल राजनीतिक परिवर्तनपछि अब विकासको पथमा अघि बढ्न चाहेको बताएका थिए । उनले नेपालले गएको पाँच वर्षमा राजनीतिक रुपमा उल्लेख्य उपलब्धी हासिल गरेको जनाउँदै अब विकासतर्फ देशको ध्यान केन्द्रीत रहेको जानकारी गराएका थिए । उनले सन् २०२६ भित्र अतिकम विकसित देशको सूचिबाट विकसित देशमा र २०४३ भित्र सम्बृद्ध देशको रुपमा नेपाललाई उभ्याउन लागिपरेको बताएका थिए । उक्त अवसरमा नेपालका विभिन्न हिमालको आरोहण गरेका आरोहणकर्ताहरु पनि सहभागी थिए । राजदूत पोखरेलले नेपालको भ्रमण गर्न आह्वान गर्दै दुई देशबीचको सम्बन्ध आगामी दिन अझ विस्तार हुँदै जाने आशा राखेको बताएका थिए ।