सडकमा आउन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रकी छोरीको आह्वान

सडकमा आउन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रकी छोरीको आह्वान


काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाकी छोरी सुनिधि राणाले वर्तमान (गठबन्धन) सरकारकाबिरुद्ध सडकमा आउन सम्पूर्ण नेपाली जनतालाई आग्रह गरेकी छन् । प्रहरी परिचालन गरेर सरकारले आफूहरुलाई नजरबन्दमा राखेको भन्दै गठबन्धनको सरकारले आफ्नो परिवारमाथि अत्याचार गरेको आरोप लगाएकी हुन् ।

आइतवार दिउँसो बालुवाटारमा रहेको प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा उनले आफूहरूलाई गठबन्धन सरकारले बाहिर निस्कन र भित्र पस्नसमेत नदिएर अत्याचार गरेको उल्लेख गर्दै नेपाली नागरिकको साथ चाहिएको बताइन् ।

देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरूलाई साथ दिएर सरकारको दमनबाट उन्मुक्ति दिलाइदिन आग्रह गरेकी छन्। उनले उनले स्कुलमा रहेको बच्चा ल्याउन नदिने, औषधि ल्याउन पनि नदिने गरी प्रहरीहरू सरकारले परिचालन गरेको भन्दै आक्रोस पाखेकी छन् ।

उनले भनिन्, ‘हामीलाई बाहिर निस्कन पनि दिइराखेको छैन । बच्चा लिन स्कुल जानुपर्छ। एउटाले बच्चा लिएर आइराखेको बेलामा उसलाई पनि समातेर लगेर थुनिदियो । हामीले पनि बाँच्न पाउनुपर्‍यो नि । एकदमै अराजकताको पनि पराकाष्ठा भएको छ ।

निलम्वित प्रधानन्यायाधीश जबराले आफूमाथि प्रतिनिधि सभामा लगाइएको महाअभियोग पुष्टि नभएको भन्दै आज बिहान ११ बजे सर्वोच्च अदालतमा काममा फर्कने तयारी गरेका थिए । तर सरकारले उनको सरकारी निवासको गेटमा ताला लगाएको परिवारले बताएको छ ।

चालेन्द्रले आफुलाई नजरबन्दमा राखेको भनेपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली जबरा र उनको परिवारको अवस्थाबारे जानकारी लिन गएको थियो। तर यसबारे आयोगले केही जानकारी दिएको छैन् ।