अष्ट्रेलियामा रहेका नेपाली कन्सल्टेन्सीहरुको संस्था एकाको अध्यक्ष बने रामचन्द्र पौडेल

अष्ट्रेलियामा रहेका नेपाली कन्सल्टेन्सीहरुको संस्था एकाको अध्यक्ष बने रामचन्द्र पौडेल


मेलबर्न, अष्ट्रेलिया ।

सिड्नीमा सम्पन्न छैठौं वार्षिक साधारणसभाले अष्ट्रेलियन एजुकेशन कन्सल्टेन्ट्स एलायन्स एकाको अध्यक्षमा रामचन्द्र पौडेललाई चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा कोमल पाठक, योगेन्द्र पौडेल, सूर्यभक्त खनाल चयन भएका छन् । यस्तै सचिवमा दिनेश खनाल, सहसचिवमा भुवन पाण्डे, कोषाध्यक्षमा सत्यप्रकाश कँडेल छानिएका छन् भने कार्यसमिति सदस्यहरुमा सुमन अधिकारी, राम चालिसे, दिपक केसी, भूमेश्वर सुवेदी, श्रृष्टि साह चयन भएका छन् । चालिसेलाई पब्लिक अफिसरको जिम्मेवारी दिइएको छ भने साहले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने भएकी छिन् ।

नवनिर्वाचित अध्यक्ष पौडेल यसअघिको कार्यसमितिमा उपाध्यक्षका रुपमा कार्यरत थिए । अधिवेशनले अध्यक्ष भुपाल सिटौलालाई संस्थाको नेतृत्वमा रही दिएको योगदानका लागि धन्यवाद दिँदै बिदाई गरेको छ ।

एक दशकदेखि क्रियाशील संस्थाले अष्ट्रेलियामा कार्यरत शैक्षिक परामर्शदाताहरुलाई समेट्दै यहाँको सरकारी निकायहरुसँग विभिन्न समस्या आइपरेका बेला समन्वय गर्दै आएको छ । संस्थामा हाल ४७ वटा कन्सल्टेन्सीहरु सदस्य छन् । वार्षिक साधारणसभामा प्रमुख अतिथिको रुपमा न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्का सहभागी थिए भने लिबरल पार्टीमा नेपाली मूलका युवा नेता पीजे श्रेष्ठलाई समेत अतिथिको रुपमा बोलाइएको थियो ।

एकाको अध्यक्षमा चुनिएका पौडेल ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसनका संस्थापक एवं सञ्चालक हुन् भने नेपालमा समेत शैक्षिक परामर्शदाताहरुको संस्थामा रही काम गरिसकेका छन् । केविसीखबरसँग प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पौडेलले यो पेशालाई व्यवस्थित र सम्मानित गराउने आफ्नो प्रयास हुने बताएका छन् ।