नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा, उपाधिका लागि बङ्गलादेशसँग भिड्ने

नेपाल महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा, उपाधिका लागि बङ्गलादेशसँग भिड्ने


काठमाडौँ । नेपाल छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतलाई हराउ्रँदै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा केही बेर अघि सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई १–० गोलअन्तरले पराजित गरेको हो । नेपालले मध्यान्तर अघिको खेलमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको इन्जुरी समयमा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् । मध्यान्तरपछिको खेलमा नेपाल र भारतका तर्फबाट गोल गर्ने प्रयास भएका थिए । दुवै टोलीले गोल गर्न नसक्दा पहिलो हाफमा गरेको एक मात्र गोलको मद्दतमा नेपाल फाइनलमा पुग्न सफल भयो ।

नेपाली टोलीको कप्तानी एन्जिला तुम्बाप्पो सुब्बाले गरेकी थिइन् । नेपाली टोलीकी मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ डेङ्गुका कारण खेल्न सकिनन् ।

नेपालले फाइनल खेल बङ्गलादेशसँग खेल्ने छ । यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनल खेलमा भुटानलाई ८–० गोलअन्तरले हराउँदै बङ्गलादेश फाइनलमा प्रवेश गरेको हो ।