अष्ट्रेलियाको होबार्टमा नेपाली युवाले सुरु गरे नेपाली कृषि फर्म 

अष्ट्रेलियाको होबार्टमा नेपाली युवाले सुरु गरे नेपाली कृषि फर्म 


तास्मानिया होबर्ट । तास्मनियामा एक नेपाली युवाले नेपाली कृषि फर्मको सुरुवात गरेका छन्। लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका स्याङ्जाका खेम डुम्रेले एक करोड नेपाली रुपैयाँको लागतमा तास्मानियाको होबार्टमा नेपाली फर्मको सुरुवात गरेका हुन्। 

विगत तीन वर्षदेखि सानो आकारमा तरकारी खेती गरेका डुम्रेले अहिले ५.५ हेक्टर क्षेत्रफलमा फर्मको विस्तार गरेका हुन्। उनको फर्ममा नेपाली तरकारीका साथै अष्ट्रेलियन नागरिकले प्रयोग गर्ने तरकारी पनि उत्पादन हुने गरेको छ। उनले अष्ट्रेलियाको आधुनिक कृषि प्रणालीको उपयोग गर्दै अधिकतम भन्दा अधिकतम उत्पादन गर्ने लक्ष लिएको बताए। 

तास्मनियाको होबार्टमा सुरुवात गरेको फर्मको उत्पादन अष्ट्रेलिया भरी नै पुर्याउने लक्ष्य रहेको उनले बताए। काम गर्दा केही अप्ठ्यारा असहजता आए पनि मेहनत र लगनशीलताले सफल हुनेमा आफू विश्वस्त रहेको उनी बताउँछन् ।

 अष्ट्रेलियामा रहेका नेपालीको भान्छामा नेपाली तरकारीको स्वाद दिन पाउँदा आफुलाई गौरव महशुस भएको उनले बताए । सुरुवातमा आफू बस्ने घर छेउकै सानो करेसाबारीमा आफ्ना लागि मात्र केही तरकारी लगाएको र तरकारीले राम्रो उत्पादन दिएपछि यहाँ पनि कृषि क्षेत्रबाट केही गर्न सकिँदो रहेछ भन्ने लागेकाले फर्मको कन्सेप्ट आएको उनी बताउँछन् । 

डुम्रेले अहिले नेपाली रायोको साग, काँक्रो, मेथी, सिस्नो, धनियाँ र फर्सीलगायतका नेपालमा पाइने सबै प्रकारका सागसब्जीहरु फलाइरहेका छन्। उनको फर्ममा उत्पादन भएको सागसब्जी होबार्टमा बस्ने जो कोहीको भान्छामा पुग्ने गरेको छ। आफ्नो उत्पादन प्रयोग गर्ने उपभोक्ताको राम्रो प्रतिक्रिया पाएको उनले बताए।