नेपाल साफ च्याम्पियनसीपको समूह विजेता

नेपाल साफ च्याम्पियनसीपको समूह विजेता


काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह बी को विजेता बन्दै छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गाशाला मैदानमा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई आधा दर्जन गोल वर्षाउँदै प्रतियोगितामा समूह बी को विजेता बन्न सफल भयो । नेपालसँग ६–० गोलअन्तरले पराजित भएको श्रीलङ्का भने प्रतियोताबाट बाहिरिएको छ । श्रीलङ्का पहिलो खेलमा भुटानसँग पराजित भएको थियो ।

समूह बीमा नेपालसहित भुटान र श्रीलङ्का छन् । समूह बी बाट नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने भुटान समूहको उपविजेता बन्दै सेमिफाइनमा पुग्यो । नेपालको जितमा अमिशा कार्कीले दुई गोल गर्दा रश्मीकुमारी घिसिङ, सरु लिम्बु, अमृता जैसी, र दिपा शाहीले समान एक एक गोल गरे ।

खेलको सुरुआती अग्रता भने रश्मीकुमारीले लिइन् । उनले खेलको १०औँ मिनेटमा गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाइन् । उनले हिराकुमारी भुजेलको क्रस बललाई हेडरमार्फत गोल गरिन् । उनले गोल गरेको एक मिनेट पनि बित्न नपाउँदै नेपालकी अर्की खेलाडी सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । उनले अमृता जैसीको पासलाई सदुपयोग गर्दै गोल गरिन् ।

यसैगरी खेलको १७आँै मिनेटमा अमृताले गोल गर्दै नेपालको अग्रता तेब्बर बनाइन् । उनले अनिता बस्नेतको कर्नर बललाई हेडमार्फत गोल गर्दै नेपाललाई ३–० गोलअन्तरले अगाडि बढाइन् । खेलको पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा नेपाली अर्की खेलाडी दिपा शाहीले गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् । यसै साफ च्याम्पियनसिपबाट दिपाले डेब्यु गरेकी हुन् ।

खेलको पहिलो हाफमा ४–० गोलअन्तरले अगाडि रहेको नेपालले दोस्रो हापमा थप दुई गोल ग¥यो । दुवै गोल अमिशा कार्कीले गरिन् । उनले खेलको ७६ र दोस्रो हाफको अत्तिरिक्त समयमा गोल गरिन् । खेलपछि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कुमार थापाले आफनो टोलीले गरेको प्रदर्शनमा आफू सन्तुष्ट रहेको बताए । उनले आजको खेलमा नसोचेका खेलाडीले समेत गोल गरेको भन्दै आगामी सेमिफाइनल खेलमा अझ राम्रो गर्न प्रयास गर्ने बताउनुभयो ।

श्रीलङ्काका प्रशिक्षक चामिन्डा निल स्टिनवालले आफ्नो टोलीभन्दा नेपाल स्ट्रोङ टोली भएकाले जीत हात पारेको प्रतिक्रिया दिए । उक्तप्रतियोगिताअन्तर्गत भोलि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे समूह ए मा रहेको माल्दिभ्स र पाकिस्तानवीच हुनेछ भने दोस्रो खेल साझ ५ः३० बजे भारत र बङ्गलादेश भिड्ने छन् ।