जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण

जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण


काठमाडौं, ५ कात्तिक । भारत सरकारले जयनगर–कुर्था रेलमार्ग नेपाललाई हस्तान्तरण गरेको छ । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर लामो जयनगर–कुर्था सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रुपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
काठमाडौंमा शुक्रबार आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गर्नुभयो । आजैदेखि यस रेलमार्गको स्वामित्व नेपाल रेल्वे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ । भारत सरकारको आर्थिक सहयोगअन्तर्गत ८ अर्ब ७७ करोड रुपैयाँमा निर्माण भएको यस रेलमार्ग ६८ दशमलव ७२ किलोमिटर जयनगर–बिजलपुरा–बर्दिबास रेलमार्गको एउटा खण्ड हो । यस रेलमार्ग सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापार–वाणिज्य वृद्धिका साथै दुई देशका नागरिकबीचको सम्बन्ध र सम्पर्क अझ सुदृढ हुने अपेक्षा गरिएको छ ।