भव्य भयो ‘नेपाल फेस्टिभल मेलबर्न’

भव्य भयो ‘नेपाल फेस्टिभल मेलबर्न’


मेलबर्न अष्ट्रेलिया । गैर आवसीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले आयोजना गरेको नेपाल फेस्टिभल मेलबर्न २०२२ भव्यताका साथ सम्पन्न भएको छ । शनिबार फेडेरेशन स्कयरमा भएको उक्त कार्यक्रममा हजारौ नेपालीले सहभागिता जनाएका थिए। फेस्टिभलमा सहभागिता हुन अष्ट्रेलियाको विभिन्न राज्यबाट एनआरएनएका पदाधिकारी लगायत अन्य व्यक्तिहरू मेलबर्न आएका थिए ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोख्रेल प्रमुख अतिथि रहेको यस फेस्टिभलमा विशेष अतिथिहरूमा भिक्टोरीयाको महिला तथा शिक्षा मन्त्री नतालि हुचिहिन्स, उर्जा मन्त्री लिलि एम्ब्रोरोसियो, लेबरका फेडरल एमपी पिटर खलिल, लिभरलका फेडरल एमपी डेभिड कोल्म्यान, मेयर, काउन्सिरल लगायत विभिन्न अरु सरकारी विभागका प्रतिनिधिहरु उपस्थित भएका थिए । त्यसै गरी भिक्टोरीयाको लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन, एनआरएनए आईसीसी अपाध्यक्ष दुर्गा आचार्य, सचिव नारायण काफ्ले, एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्ग लगायत विभिन्न राज्यबाट एनआरएनका संयोजक तथा प्रतिनिधिहरूको उपस्थिति थियो । 

बिहान ११ बजे टेजररी विल्डिङ्गबाट परेड सुरु गरेर नेपाल फेस्टिभल शुभमुहर्त गरिएको थियो। परेडमा राजदूत कैलाश पोख्रेलदेखि एनआरएनए आईसीसी, एनसीसी र एसीसीका पदाधिकारीहरूले उपस्थिति जनाएका थिए । 

नेपाल र अष्ट्रेलियाको झण्डा फर्फराउँदै फेडेरेशन आइपुगेको परेडमा कुमारी, बुद्ध देखि लिएर पन्चे बाजा तथा विभिन्न संस्कृतिको मौलिक नृत्य देखि क्रियाकलापहरू आकर्षण देखिन्थे । एकदेखि तीन बजेसम्म चलेको औपचारिक कार्यक्रम पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो । दुवै देशको राष्ट्रिय गाना बजाउँदै गर्दा भर्खरै अवसान भएकी बेलायतकी महारानी एलिजावेथको शोकमा एक मिनेट मौन धारणा पनि गरिएको थियो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले नेपाल फेस्टिभलको वृहत मेलाको प्रंशसा गर्दै यसमा खट्ने सबैलाई धन्यवाद दिए । उनीहरूले सबै जना कुनै जातजाति, राजनैतिक पार्टीको भन्दा पनि नेपाली भएर चिनाउनु पर्छ भनेर जोड दिएका थिए । सबैजनाले नेपालीहरुको विविधतामा एकतामा जोड दिएका थिए । 

यसैबीच शिक्षा मन्त्री नतालि, उर्जा मन्त्री लिलि, फेडरल एमपीद्वय पिटर र डेभिडले नेपाली संस्कृति सुन्दर र धनी रहेको बताएका थिए । कार्यक्रममा सहभागी हुने सबै जना खादा र ढाका टोपी लगाएर स्वागत गरिएको थियो । विभिन्न नृत्यसहित संगीतले फेस्टिवलको माहोल तातिएको थियो । फेस्टिभलमा लोक दोहोरी गायक बद्री पंगेनी, गायिका एलिना चौहान र व्याण्ड कववेभले दमदार प्रस्तुति दिइएको थियो ।