कर्णालीका बाढी प्रभावितका लागि दीर्घकालीन राहत कार्यक्रम ल्याउने प्रधानमन्त्रीको घोषणा

कर्णालीका बाढी प्रभावितका लागि दीर्घकालीन राहत कार्यक्रम ल्याउने प्रधानमन्त्रीको घोषणा


काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली नदीको बाढीबाट प्रभावित नागरिकका लागि तत्काल राहत कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री देउवाले हरेक वर्ष आउने बाढीबाट मुक्ति पाउन दूरगामी महत्वको दीर्घकालीन कार्यक्रम बनाउनेसमेत बताउनुभएको छ ।
बाढीप्रभावित क्षेत्र निरीक्षणका क्रममा शुक्रबार कैलालीको टीकापुर पुग्नु भएका प्रधानमन्त्री देउवाले यसपटकको बाढीले सबैभन्दा बढी नोक्सानी भएको क्षेत्रमध्ये टीकापुर पनि भएको चर्चा गर्नुभयो । बढी क्षति भएको क्षेत्रकै कारण अर्थमन्त्री जनार्दन शर्मा र पर्यटन मन्त्रीसहित प्रत्यक्ष रुपमा हेर्न आएको पनि उहाँले चर्चा गर्नुभयो ।
‘हेलिकप्टरबाट पनि देखिन्थ्यो तर दुःखकोबेला जनतासँग प्रत्यक्ष भेटन यहाँ आएका हौं’ प्रधानमन्त्री देउवाले भन्न्ुभयो, ‘बास्तविक कुरा थाहा पनि पायौं, काठमाडौंबाट आउनुअघि पनि केही राहतका कार्यक्रम दिएका छौं, फर्केर काठमाडौं पुगेपछि दीर्घकालीन कार्यक्रम र योजना बनाउनेछौं ।’
प्रधानमन्त्रीको निरीक्षण भ्रमण कार्यक्रममा सुदूरपश्चि प्रदेश सभा सदस्य तथा कांगे्रस संसदीय दलका नेता डा. रणबहादुर रावलले कर्णालीको बाढीबाट खाद्यान्न र घरबारविहीन भएकालाई राहात उपलब्ध गराउने बताउनुभयो । नदीले बगाएको हुलाकी सडक, शाहीपुर लगायतका क्षेत्रमा बगेको तटवन्ध जेठभित्रै सम्पन्न हुनेगरी निर्माण पूरा गर्न निर्देशनका लागि प्रधानमन्त्रीलाई उहाँले अनुरोध गर्नुभयो ।
प्रधानमन्त्री देउवालाई टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले बाढीबाट १ हजार ५९६ परिवार विस्थापित भएको जानकारी गराउनुभयो । त्यस्तै, २ हजार ३४५ परिवार प्रभावित र आठ हजार २१४ जना विद्यालय, सडक छेउ र आफन्तकहाँ आश्रय लिएर बसिरहेकाले तत्कालीन र दीर्घकालीन राहत, सहयोग कार्यक्रम दिन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो ।