मौसममा सुधार आएपछि प्रधानमन्त्री देउवा निस्किए बाढी पहिरो क्षेत्रको अवलोकनमा

मौसममा सुधार आएपछि प्रधानमन्त्री देउवा निस्किए बाढी पहिरो क्षेत्रको अवलोकनमा


काठमाडौं ।

लगातारको वर्षा र हावाहुरीबाट प्रभावित बनेका देशका विभिन्न क्षेत्रको अवलोकनका लागि प्रधानमन्त्रीले आज हवाई दौडाहा गर्दैछन् । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनमा निस्किएका हुन् । विहान ८ बजे उनी काठमाडौंबाट बाढी पहिरो र डुबान प्रभावित विभिन्न जिल्लामा अवलोकन गर्न निस्किएका छन् ।

प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, पर्यटनमन्त्री प्रेम आले, पूर्वमन्त्रीत्रय एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीको टोली प्रधानन्त्रीको सरकारी निवास बालुवाटारबाट सिधै सुर्खेत जाने छ ।

सुर्खेत विमानस्थलमा कर्णाली प्रदेशमा भएको क्षतिका सन्दर्भ प्रधानमन्त्रीले बिफ्रिङ लिने छन् । त्यसपछि प्रधानमन्त्रीको टोली सुर्खेतबाट डोटीको दिपायल प्रस्थान गर्नेछ । दिपायलमा बिफ्रिङ तथा अवलोकन गर्ने कार्यक्रम छ । दिपायलबाट प्रधानमन्त्रीको टोली बझाङतिर लाग्ने छ ।

त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ । बझाङबाट प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरा प्रस्थान गर्ने छन् । त्यहाँ पनि बिफ्रिङ र अवलोकन गर्ने छन् । त्यसपछि प्रधानमन्त्रीको टोली कञ्चनपुर प्रस्थान गर्ने छ । कञ्चनपुरमा पनि बिफ्रिङ र अवलोकन गर्ने कार्यक्रम छ । कञ्चनपुरको अवलोकनपछि प्रधानमन्त्रीको टोली कैलाली जाने छ । कैलालीको अवलोकनपछि प्रधानमन्त्रीको टोली धनगढी बास बस्ने छ ।

देउवाको टोली शुक्रबार बर्दिया र बाँके हुँदै मात्रै काठमाडौं फर्किने छ । अविरल वर्षाका कारण देशका विभिन्न जिल्लामा व्यापक जनधनको क्षति भएको छ ।

लगातारको वर्षापछि यतिबेला मौसममा सुधार आएको छ । मौसम विभागले केही भागमा घाम लाग्ने र विस्तारै मौसम सुधार हुँदै जाने जनाएको छ ।