न्युकासल, अस्ट्रेलिया । अस्ट्रेलियाको न्युकासलमा नेपाली भाषा, संस्कृति संरक्षण तथा सामाजिक सेवामा सक्रिय चार नेपाली ‘न्युकासल भोलिन्टियर सर्भिस अवार्ड २०२६’ बाट सम्मानित भएका छन्।
न्युकासल क्षेत्रकी सङ्घीय सांसद तथा अस्ट्रेलियाली प्रतिनिधिसभाकी उपसभामुख श्यारोन क्लेडनद्वारा आयोजित समारोहमा प्रवेश पौडेल, भवेश भट्टराई, जुनु कार्की र किशोर शाहीलाई ‘सांस्कृतिक तथा बहुसांस्कृतिक संस्था’ विधाअन्तर्गत सम्मान गरिएको हो।
सम्मानितमध्ये ‘नेप्लिज कम्युनिटी अफ न्युकासल’ का सचिव प्रवेश पौडेलले लगातार तेस्रो वर्ष यो सम्मान प्राप्त गरेका छन्। दोस्रो पुस्ताका नेपाली बालबालिकाका लागि नेपाली भाषा विद्यालय स्थापना गरेका पौडेल मातृभाषा तथा सांस्कृतिक पहिचान संरक्षणमा सक्रिय छन्। उनले हन्टर मल्टिकल्चरल कम्युनिटिजमार्फत ज्येष्ठ नागरिकको सहयोग तथा स्थानीय सांस्कृतिक र खेलकुद गतिविधिमा समेत योगदान पुर्याएका छन्।
सोही संस्थाका अध्यक्ष भवेश भट्टराई संस्थाको स्थापना र विस्तारसँगै सांस्कृतिक महोत्सव, रक्तदान, खेलकुद तथा आर्थिक सहयोग सङ्कलनमा सक्रिय छन्। उनले नयाँ आउने विद्यार्थी र आप्रवासी परिवारलाई स्थानीय समुदायमा स्थापित हुनसमेत सहयोग गर्दै आएका छन्।
सन् २०२१ देखि सामुदायिक सेवामा सक्रिय जुनु कार्की नवआगन्तुक विद्यार्थीको सहजीकरण, सांस्कृतिक प्रवर्द्धन तथा नेपालका बाढीपीडितका लागि राहत सङ्कलनमा योगदान पुर्याउँदै आएकी छन्।

त्यसैगरी, ‘नेप्लिज इन न्युकासल’ का स्वयंसेवक किशोर शाही सामुदायिक सूचना मञ्चमार्फत उपयोगी जानकारी प्रवाह गर्दै विद्यार्थी तथा आप्रवासीहरूलाई स्थानीय अवसर, गतिविधि र सहयोगी सञ्जालसँग जोड्न सक्रिय छन्।
समारोहका लागि जारी प्रशंसापत्रमा चारै जनाको निःस्वार्थ सेवा, सामाजिक सक्रियता तथा समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउन पुर्याएको योगदानको प्रशंसा गरिएको छ।
पछिल्ला वर्षहरूमा न्युकासल तथा हन्टर क्षेत्रमा नेपाली विद्यार्थी र परिवारहरूको उपस्थिति बढेसँगै भाषा, संस्कृति, खेलकुद र सामाजिक सेवासम्बन्धी गतिविधि पनि विस्तार भएका छन्।
चार नेपालीले प्राप्त गरेको यस सम्मानले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको सक्रिय सहभागिता र सकारात्मक योगदानलाई थप उजागर गरेको छ।



प्रतिक्रिया