सर्लाही । मकवानपुरको चिसापानी गढीमा बिहीबार भएको दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका १४ जनाको शव आज सर्लाही लगिँदैछ । मृतक १४ जनाकै राति पोस्टमार्टम भएको चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादवले जानकारी दिए । उनले भने, “राति सबैको पोस्टमार्टम भइसकेको छ । मृतकको परिवारले पाउने क्षतिपूर्तिको विषयमा अहिले बिहान छलफल गर्दैछौँ । ।”
बिहीबारको दुर्घटनामा यात्रुहरु चक्रघट्टा गाउँपालिका –४, सुन्दरपुर गाउँका १३ जना र चालक कविलासी नगरपालिकाका एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुन्दरपुर गाउँका अवधेश यादवकी आठ महिनाकी गर्भवती श्रीमती २८ वर्षीया पुनम यादव, छोरीहरु ५ वर्षकी दीपिका, ७ वर्षकी दीक्षा र १० वर्षकी अनुकुमारी, भाइहरु २६ वर्षीय विकेश यादव र १७ वर्षीय सुधेश यादवको दुर्घटनामा मृत्यु भएको छ ।
त्यस्तै, मृतकहरुमा हायस चालक सर्लाहीको कविलासी नगरपालिका –८, अगर्बा बस्ने ३० वर्षीय रवीशङ्करकुमार मण्डल, यात्रुहरु सुन्दरपुर गाउँका ३५ वर्षीय गुड्डु यादव, ३२ वर्षीया गायत्री यादव, २६ वर्षीय रामदुलार यादव, २४ वर्षीय सुवोध यादव, ३५ वर्षीय राकेश यादव र २८ वर्षीय छोटु राय भन्ने रामप्रसाद राय यादव रहेका छन् ।
दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सुन्दरपुर गाउँ बिहीबारदेखि नै शोकमग्न बनेको छ । छठका कारण अन्यत्र उल्लास छाउँदा सुन्दरपुर गाउँमा भने रुवावासी छ ।
मृतकहरुको शव सर्लाही ल्याएर सामूहिक अन्त्येष्टिको तयारी छ । गाउँपालिका अध्यक्ष यादवले सुन्दरपुरका १३ जनाको एकै ठाउँमा अन्त्येष्टि गर्ने तयारी रहेको बताउनुभयो ।
छठ पर्व मनाउन मधेश प्रदेश ०३ –००१ ज ०८८० नम्वरको इभी हायस चढेर आएकाहरु बिहीबार बिहान पौने ६ बजेतिर काठमाडौँ–कुलेखानी–भीमफेदी सडक अन्तर्गत चिसापानीगढी आइपुग्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परेको गाडी सडकबाट करिव ५०० मिटर तल अप्ठेरो भिरमा खसेको थियो ।
दुर्घटनामा घाइते भएका सुन्दरपुरकै तीन वर्षीय सुजन यादवलाई काठमाडौँ, ३१ वर्षीय देवेन्द्र यादवलाई भरतपुर र १४ महिनाका सुदीप यादवलाई काठमाडौँ रेफर गरिएको छ । ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र यादव हेटौंडामा उपचारपश्चात डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डिएसपी माधवप्रसाद काफ्लेले चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने आशङ्का रहेको सञ्चारकर्मीसँग बताउनुभएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेको गाडी बुधबार राति मात्र सर्लाहीबाट यात्रु लिएर काठमाडौँ गएको थियो ।
यहाँबाट गएका यात्रुलाई काठमाडौँमा ओराल्नासाथ गाडी पुनः सुन्दरपुरका यात्रुहरु लिएर सर्लाहीतर्फ हिँडेको थियो । दुर्घटनामा परेको गाडी क्षतविक्षत भएको छ । उक्त दुर्घटनापछि सर्लाहीको चक्रघट्टा गाउँपालिकामा शुक्रबार शोक बिदा दिइएको छ ।

प्रतिक्रिया