मेलबर्नमा नेपाल फेष्टिभलको ८० प्रतिशत तयारी पूरा !

मेलबर्नमा नेपाल फेष्टिभलको ८० प्रतिशत तयारी पूरा !

सेप्टेम्बर १० तारिख मेलबर्नको फेडेरेसन स्क्वायरमा नेपाली झण्डा फहराउने दिन


मेलबर्न, अष्ट्रेलिया ।

आगामी सेप्टेम्बर १० तारिखमा अष्ट्रेलियाको मेलबर्नमा हुन लागेको नेपाल फेष्टिभलको ८० प्रतिशत तयारी पूरा भएको एनआरएन भिक्टोरियाले जनाएको छ । तयारीबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै एनआरएन भिक्टोरियाका संयोजक हरि खड्काले विगतको भव्यतालाई कायम राख्दै थप नयाँ आयामहरु जोडिने प्रतिबद्धता जनाए ।

उनले यस पटक नेपालीहरुले सञ्चालन गरेका व्यवसाय मात्र नभई अन्य समूदायका व्यवसायीहरुले समेत नेपाल फेष्टिभलमा सहभागिता जनाउने जानकारी दिए । यस पटक कमनवेल्थ बैंकले समेत आफ्नो स्टल नेपाल फेष्टिभलमा राख्ने भएको छ । पत्रकार सम्मेलनमा सहभागीहरुलाई स्वागत गर्दै एनआरएन भिक्टोरियाका सचिव गणेश कँडेलले नेपाल फेष्टिभल सबैको उत्सव भएको बताए ।

उक्त पत्रकार सम्मेलनमा ब्लूबेरी रियल स्टेट मेलबर्नका सेल्स मेनेजर महादेव धानुकले नेपाल फेष्टिभलको प्रायोजन गर्नुमा व्यवसायसँगै नेपाली कला संस्कृति, भाषा, भेषभूषा , गीत संगीत र नेपाली परिकारको प्रबद्र्धन गर्नु समेत रहेको बताए ।

पब्लिसिटि टास्क फोर्सका संयोजक हेम दुलाल, आर्टिस्ट म्यानेजमेन्टका संयोजक राम कडेँल, कल्चरल परेडका संयोजक तारा गैरे, फुड एण्ड बेभेरेज टास्क फोर्सका विजय दाहाल, स्वयंसेवक व्यवस्थापन टास्क फोर्सका कृष्ण चालिसे लगायतले तयारीको विषयमा जानकारी गराएका थिए । यसपालीको इभेन्ट म्यानेजमेन्ट संयोजन यति फुटबल क्लबले गर्ने निर्णय भएको जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो ।

कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष राज शर्माले आफुहरुको एकमात्र उद्देश्य समयमै कार्यक्रम सुरु गर्ने र समयमै सम्पन्न गर्ने रहेको जानकारी दिए । नेपालबाट अष्ट्रेलियासम्म आएका कलाकारहरुलाई उचित समय व्यवस्थापन गर्नुपर्ने चुनौति रहेपनि यसअघिको अनुभवबाट सिक्दै आफुहरुले उपस्थित दर्शकहरुलाई उत्कृष्ट प्रस्तुति पस्कने प्रतिबद्धता उनको थियो ।