आजबाट नेपाली काँग्रेसको १५ औं महाधिवेशन, देउवालाई प्रमुख अतिथिको निम्ता

आजबाट नेपाली काँग्रेसको १५ औं महाधिवेशन, देउवालाई प्रमुख अतिथिको निम्ता


काठमाडौं । देशको पुरानो पार्टी नेपाली काँग्रेसको १५ औं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । विशेष अधिवेशनको विवादकाबीच नियमित अधिवेशन समेत सकाउने योजनामा रहेका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई प्रमुख अतिथिको रुपमा कार्यक्रममा निम्ता गरेको भएपनि देउवाले भने निम्तोपत्र बुझेका छैनन् । सभापति गगनकुमार थापाको हस्ताक्षरसहितको पत्र पूर्वसभाति देउवाको निवासमा पुर्‍याइएको हो ।
पार्टीका तर्फबाट सहमहामन्त्री योगेन्द्र चौधरी नेतृत्वको टोली देउवालाई निमन्त्रणा दिन चुनदेवीस्थित देउवा निवास पुगेको थियो । शनिबार साँझ देउवानिवास पुग्दा पूर्वसभापति देउवासँग भेट भने हुन नसकेको सहमहामन्त्री चौधरीले बताएका छन् । उद्घाटन सत्रमा रास्वपाका सभापति रवि लामिछाने, पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता प्रचण्ड लगायतलाई अतिथिको निम्तो दिइएको छ ।
२ बजे कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
चालिसेले महाधिवेशनलाई केवल नेता चयनमा मात्र सीमित नराखी ‘नीति चयन’ को अधिवेशनका रूपमा अघि बढाउने प्रयत्न गरिएको बताए। यसले कांग्रेसलाई संस्थागत र सुदृढ बनाउन मद्दत पुर्‍याउने उनले बताए।

प्रवक्ता चालिसेले उम्मेदवारी मनोनयन दर्ता हुनुअघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने र विधान संशोधन समितिले तयार पारेको र केन्द्रीय समितिले छलफल गरी ल्याएको प्रस्तावअनुसार पदहरू थप्ने, घटाउने वा परिमार्जन गर्ने अन्तिम अधिकार महाधिवेशन हलको रहने उल्लेख गरे।

उनले असोज १९ गते सोमबार अपराह्न २ बजेदेखि ६ बजेसम्म मनोनयन दर्ता हुने जानकारी दिए। उम्मेदवारको नामांकन गर्ने समयभन्दा अगाडि विधान संशोधन भइसक्ने उनले बताए। नेतृत्व चयनका लागि मतपत्रबाटै निर्वाचन हुने उनको भनाइ छ।

प्रवक्ता चालिसेले आइतबारको उद्घाटन सत्रपछि सुरु हुने बन्दसत्रमा कांग्रेसको आगामी नीति, कार्यक्रम तथा समसामयिक प्रतिवेदनहरू पेस गरिने र सभापतिले आगामी ५ वर्षका लागि राजनीतिक, आर्थिक, उत्पादन, रोजगार तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र पेस गर्ने जानकारी दिए।

महाधिवेशनका लागि देशभरिबाट प्रतिनिधिहरू काठमाडौँ आउने क्रम जारी रहेको र ३ हजार ५सय रुपैयाँ दर्ता शुल्क तिरेर रजिस्ट्रेसनको व्यवस्था गरिएको उनले बताए। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको कांग्रेसले जनाएको छ।

कांग्रेसले महाधिवेशन स्थलमा आउने सहभागी तथा प्रतिनिधिहरुका लागि सवारीसाधन पार्किङका लागि ८ स्थानमा ब्यवस्थापन मिलाएको छ ।

कांग्रेस महाधिवेशन आयोजक समिति अन्तर्गतको यातायात ब्यवस्थापन समितिका संयोजकसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य विजय बहादुर स्वाँरका अनुसार महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि धरहराको अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरवारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको छ ।
यसैगरी काठमाडौँ उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठुला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरी ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौँसँग समन्वय गरिएको स्वाँरले जानकारीदिए । धरहरा अन्डर ग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निशुल्क हुनेछ।

कांग्रेसले नेता कार्यकर्तालाई निर्धारित स्थानमा सवारीसाधन पार्किङ गरिदिन आग्रह गरेको छ । आफु सवारीसाधन लिएर आएकै क्षेत्रको तोकिएको पार्किङमा सवारीसाधन ब्यवस्थापन गरेर आउन कांग्रेसले प्रतिनिधि तथा नेताकार्यकर्तालाई आग्रहसमेत गरेको छ । त्यसो हुँदा सवारी आवागमन ब्यवस्थापन गर्न सहज हुने कांग्रेसले जनाएको छ ।