पर्थ — पश्चिमी अष्ट्रेलियाको पर्थमा आगामी शनिबार, १० अक्टोबर २०२६ नेपाल महोत्सव आयोजना हुँदैछ। नेपाली कला, संस्कृति, संगीत, खानपान र समुदायको पहिचानलाई अष्ट्रेलियाली बहुसांस्कृतिक समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले NRNA Western Australia को आयोजनामा महोत्सव हुन लागेको हो।
इस्ट पर्थस्थित Wellington Square मा बिहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने महोत्सव सर्वसाधारणका लागि निःशुल्क र परिवारमैत्री रहने आयोजकले जनाएको छ। महोत्सवको प्रमुख आकर्षणको रुपमा गायक प्रमोद खरेल र गायिका रचना रिमाल रहेका छन् । यस्तै दिनभरि नै नेपाली सांस्कृतिक झाँकी र प्रस्तुतिहरुले दर्शकहरुलाई मनोरञ्जन दिइनेछ । हरेक दुई वर्षमा आयोजना हुने नेपाल फेष्टिभलमा नेपाली खानाका स्टलका साथै बालबालिकाहरुको लागि पनि मनोरञ्जनात्मक कार्यक्रम समेटिएको छ ।
महोत्सवमा नेपालका विभिन्न समुदाय र क्षेत्रको प्रतिनिधित्व गर्ने परम्परागत नृत्य, सांगीतिक प्रस्तुति, सांस्कृतिक परेड, नेपाली खानाका परिकार तथा कला र हस्तकलाका प्रदर्शनी मुख्य आकर्षणका रूपमा रहनेछन्। ‘नेपाल हाउस’ मार्फत सगरमाथा, गुरखा इतिहास, धरहरा, नेपाली कला, संस्कृति तथा पर्यटकीय गन्तव्यबारे जानकारी दिने प्रदर्शनीसमेत राखिनेछ। बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधि पनि सञ्चालन हुने आयोजकले जनाएको छ।
आयोजकका अनुसार महोत्सवले नेपाली संस्कृति संरक्षण र नयाँ पुस्तासम्म नेपाली भाषा, कला तथा परम्परा पुर्याउनुका साथै अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदायको योगदानलाई प्रस्तुत गर्ने उद्देश्य राखेको छ।
यसैबीच, नेपाल महोत्सवको अघिल्लो दिन ९ अक्टोबर २०२६ मा NRNA Australia को वार्षिक साधारण सभा (Annual General Meeting–AGM) आयोजना हुने कार्यक्रमसमेत रहेको छ। NRNA Australia को विधानअनुसार वार्षिक साधारण सभा संस्थाको महत्वपूर्ण निर्णय गर्ने संरचनामध्ये एक हो। संस्थाको आधिकारिक जानकारीअनुसार AGM मा वार्षिक तथा वित्तीय प्रतिवेदनलगायत संस्थासम्बन्धी विषयमा छलफल हुने व्यवस्था छ।
NRNA Australia ले हाल अष्ट्रेलियाका विभिन्न राज्य तथा क्षेत्रलाई समेट्दै राष्ट्रिय संरचनामार्फत नेपाली समुदायका गतिविधि सञ्चालन गर्दै आएको छ। संस्थाका अनुसार सन्तोष कुँवर वर्तमान अध्यक्ष रहेका छन्।
यसरी ९ अक्टोबरको NRNA Australia AGM र १० अक्टोबरको नेपाल महोत्सवका कारण आगामी सप्ताहन्त पर्थमा अष्ट्रेलियाभरका नेपाली समुदायका लागि महत्वपूर्ण बन्ने भएको छ। नेपाल महोत्सवमा करिब १५ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको स्थानीय आयोजकसम्बन्धी विवरणमा उल्लेख छ।

प्रतिक्रिया