प्लेसमेन्टबाट फर्किंदै गरेकी नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु

प्लेसमेन्टबाट फर्किंदै गरेकी नेपाली विद्यार्थीको सडक दुर्घटनामा मृत्यु


न्यु साउथ वेल्सको पश्चिमी क्षेत्रमा शुक्रबार साँझ भएको सडक दुर्घटनामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छन्।

शुक्रबार, २ अक्टोबर २०२६ साँझ करिब ५ बजे, ओबरनबाट करिब २४ किलोमिटर दक्षिणमा रहेको डग रक्स रोड, ब्ल्याक स्प्रिङ्स मा दुर्घटना भएको हो।

न्यु साउथ वेल्स प्रहरीले दिएको जानकारीअनुसार, चिफ्ली पुलिस डिस्ट्रिक्टका अधिकारीहरूलाई एउटा कार सडकबाट बाहिरिएर रुखमा ठोक्किएको जानकारी प्राप्त भएको थियो।

दुर्घटनापछि NSW Rural Fire Service घटनास्थलमा पुगेको थियो। एम्बुलेन्सका स्वास्थ्यकर्मीहरू आइपुग्नुअघि उद्धारकर्मीहरूले कारमा रहेकी एक महिलालाई CPR समेत गरेका थिए।

तर, २० वर्षको उमेर समूहकी ती महिलालाई बचाउन नसकिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले उनको औपचारिक पहिचान हुन बाँकी रहेको बताएको छ।

प्राप्त जानकारीअनुसार, दुर्घटनामा ज्यान गुमाउने महिला प्लेसमेन्ट पूरा गरेर फर्किंदै गरेकी नेपाली विद्यार्थी रहेको जनाइएको छ। घटनाबारे न्यु साउथ वेल्स प्रहरीले नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (NRNA) लाई जानकारी गराएको छ।

कारमा रहेकी अर्की २४ वर्षीया महिलालाई टाउको र छातीमा चोट लागेको थियो। उनलाई घटनास्थलमै प्राथमिक उपचारपछि हेलिकोप्टरमार्फत लिभरपुल अस्पताल लगिएको र उनको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको अनुसन्धानका लागि प्रहरीले घटनास्थलमा क्राइम सिन स्थापना गरेको छ। दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान जारी रहेको छ।