डब्बो, अष्ट्रेलिया । नेपाली समुदायकी युवा आन्या कोइरालालाई एनएसडब्लु यंङ्ग भोल्युन्टर अफ दि ईयर ओराना २०२६ एवार्ड प्रदान गरिएको छ । समुदायको सेवा, स्वयंसेवा र नेपाली संस्कृति प्रवर्द्धनमा पुर्याएको योगदानको कदरस्वरूप उनले यो प्रतिष्ठित एवार्ड पाएकी हुन् ।
एवार्ड प्राप्तिपछि केविसीखबरसँग कुरा गर्दै आन्याका बुबा सुमन कोइरालले छोरीले समाजसेवा गर्दा आफुहरु गौरवान्वित भएको बताए । उनले भने, “आन्याले स्वयंसेवा गर्दा न मौसमको परवाह गरिन्, न समयको। उनले कहिल्यै पुरस्कार वा सम्मानको अपेक्षा गरिनन्। अरूलाई कसरी सहयोग गर्न सकिन्छ, समुदायलाई कसरी केही फर्काउन सकिन्छ र आफूले कसरी सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने नै उनको प्राथमिकता रह्यो।” उनले थपे, “यो केवल पारिवारिक खुसीको विषय मात्र नभई अष्ट्रेलियामा रहेका सम्पूर्ण नेपाली समुदायका लागि गौरवको क्षण पनि हो।”

नेपाली भाषा विद्यालयमा शिक्षकहरूलाई सहयोग गर्ने, साना बालबालिकालाई मार्गदर्शन गर्ने तथा विभिन्न सामुदायिक गतिविधिमा सक्रिय सहभागिता जनाउनेदेखि लिएर नेपाली कला र संस्कृतिको प्रवर्द्धनसम्म उनी सक्रिय रहँदै आएकी छन्।
नेपाली गीतमा नृत्य प्रस्तुत गर्दै उनले विभिन्न कार्यक्रम तथा महोत्सवहरूमा नेपाली संस्कृति चिनाउँदै आएकी छन्। हाल एनएसडब्लु को एउटा सानो सहर डब्बोमा बसोबास गर्ने आन्या आन्याको यो उपलब्धिले नयाँ पुस्तालाई पनि स्वयंसेवा र समुदायप्रति जिम्मेवार बन्न प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया